धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास सुरु



काठमाडौँ। 

पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० आइतबार सुरु भएको छ । राजेन्द्र शाक्य, रेसुभ चुरिवाल, प्रयाग जोशी, निशान्त अग्रवाल, धीर पुन, राजकुमार श्रेष्ठ र रत्नकाजी शाक्य पहिलो दिन जित हात पारेर दोस्रो चरणमा पुगेका छन् ।

रिषभले शैलश अमात्यलाई सजिलै ११–०, ११–२ र ११–७ को सोझो सेटमा हराएर अगाडि बढे । अन्य खेलमा निशान्तले अजय सिंह, धीरुले अजित के. सिंह (११–५, ११–५, ११–६) र रत्नकाजीले जुनिल शाक्य (११–४, ११–२, ११–३) लाई पनि सीधा सेटमा पराजित गरेर प्रिक्वाटरफाइनलको यात्रा तय गरे ।
प्रयाग र राजकुमारले भने पहिलो चरण पार गर्न प्रतिस्पर्धात्मक पाँच सेट खेल्नुपर्यो । प्रयागले ऋद्धि शाक्यलाई ९–११, ११–३, ९–११, ११–५ र ११–८ ले हराए ।

राजकुमारले राज महर्जनविरुद्धको कठिन खेलमा ४–११, ९–११, ११–९, ११–४ र ११–७ ले जित हात पारे ।
राजेन्द्र भने वाकओभर प्राप्त गरी अगाडि बढाएका हुन् । आश्विन तोडीले खेल छोडेपछि राजेन्द्र सीधै दोस्रो चरणमा पुगे । पुरुष एकलमा शीर्ष चार वरीयताप्राप्त खेलाडीलाई पनि पहिलो चरणमा बाई दिइएको छ ।

मास्टर्स एकलमा सुरेश शाक्य, मधुलाल मास्के, अजय के. सिंह, इन्द्रबहादुर र प्रेम सिंहले आफ्नो खेल जितेर पहिलो चरण पार गरे । सुरशेले अनिल वज्राचार्यलाई ८–११, ११–६, ११–८, ११–५ र मधुलालले किरण श्रेष्ठलाई रोमाञ्चक पाँच सेटको खेलमा ५–११, १०–१२, १३–११, ११–४, ११–३ ले हराए । अजय केशरले पनि बल्लतल्ल महेन्द्र वैद्यलाई ११–८, ११–९, ६–११, ६–११ र ११–७ ले पराजित गरे । यसैगरी, इन्द्रबहादुरले रत्न महर्जनलाई ११–२, ११–४ र ११–६ तथा प्रेम सिंहले जितेन्द्र जोशीलाई ११–८, ११–२, १०(१२ र ११–२ ले हराएर दोस्रो चरणमा स्थान बनाए । महिला खुल्ला र ब्वाइज यु१९ का खेलहरु सोमबारमात्र सुरु हुनेछन् ।

घरेलु स्क्वासको सबभन्दा ठूलो प्रतियोगिता धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासको साउन २७ गते सम्पन्न हुनेछ । यो प्रतियोगिता धनलक्ष्मी महर्जन फाउन्डेसनअन्तर्गत आयोजना भएको हो । स्क्वास संघका निवर्तमान अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिताको नामाकरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्