एचए,नर्सिङ र फार्मेसीको शुल्क बढाउने निर्णय स्थगित



काठमाडौँ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले प्राविधिक विषयमा शुल्क बढाउने निर्णय स्थगन गरेको छ। सीटीईभीटीले एक सूचना जारी गर्दै सरोकारवालासँग छलफल गरेर शुल्क समायोजन गर्ने भन्दै शुल्क बढाउने यसअघिको निर्णय स्थगन गरिएको जनाएको छ।

सीटीईभीटीले गत असार २९ गते एक सूचना जारी गर्दै नर्सिङ, सामान्य चिकित्सा (एचए) र फार्मेसीको अध्ययन शुल्क बढाएको जनाएको थियो। नयाँ शैक्षिक सत्रदेखि लागू हुने भनिएको उक्त शुल्कतालिका अनुसार नर्सिङ पढ्ने विद्यार्थीले तीन वर्षमा ६ लाख २४ हजार २३० रुपैयाँ शुल्क तिर्नुपर्ने थियो। यसअघि नर्सिङको पढाइ शुल्क चार लाख ७५ हजार थियो।

त्यस्तै, एचएका विद्यार्थीले पाँच लाख २३ हजार ८२० शुल्क तिर्नुपर्ने थियो। यसअघि भने एचएका लागि चार लाख चार हजार शुल्क तोकिएको थियो।

यसैगरी, फार्मेसीका विद्यार्थीले तीन वर्षमा चार लाख २३ हजार ६६० रुपैयाँ शुल्क तिर्नुपर्ने भनिएको थियो। यसअघि फार्मेसीको शुल्क तीन लाख ३७ हजार थियो।

शैक्षिकसत्र २०८०/०८१ मा नयाँ भर्ना हुने विद्यार्थीलाई वृद्धि भएको शुल्क लागू गर्ने भनिएको थियो ।

सीटीईभीटीले एकै वर्षमा २५ देखि ३० प्रतिशत शुल्क बढाएको भन्दै विरोध भएको थियो । विभिन्न विद्यार्थी संगठन लगायत तत्काल आन्दोलन गर्ने भन्दै चिकित्सा शिक्षा सुधारका अधियन्ता डा. गोविन्द केसीले समेत शुल्क वृद्धिको निर्णय फिर्ता लिन आग्रह गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्