उज्यालो अभियान : एक वर्षमा १ हजार ९ सय जनाको निःशुल्क शल्यक्रिया



काठमाडौँ। 

उज्यालो अभियान कार्यक्रम अन्तर्गत दाङ तुलसीपुरका १ हजार ९ सय  जनाले  नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारहरुसंग आर्थिक वर्ष २०७९/८० मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रम अन्तर्गत १ हजार ८ सय ९९  जनाको मोतिया विन्दुको निःशुल्क शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको संघले जनाएको हो ।

नागरिकहरुले मोतिया विन्दुका कारण दृष्टिबिहिन जीवन यापन गर्नु नपरोस् र नेपाल सरकारको आँखा स्वास्थ्य रणनितिलाई समेत सहयोग पुर्‍याउने उद्देश्यले स्थानियतहरुसंग निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता गरी गत आर्थिक वर्षमा उज्यालो अभियान सञ्चालन गरिएको संघका प्रमुख प्रशासक सम् शेर थापा बताउँनुहुन्छ ।

पैसा र पहुँचको अभावका कारण कोहि कसैले पनि अनहाकमै आँखाको ज्योति गुमाउन नपरोस् भन्ने मुख्य उद्धेश्यका साथ उज्यालो कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ ।

उज्यालो अभियान अन्तर्गत राप्ती आँखा अस्पतालले दाङको तुलसीपुर उपमहानगरपालिकामा २ सय ५९ जना, घोराही उपमहानगरपालिकामा १ सय ८७ जना, शान्तिनगर गाउँपालिकामा ८९ जना , बबई गाउँपालिकामा ४९ जना र दंगिशरणमा १ सय जनाको मोतिया विन्दुका बिरामीहरूको शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको बाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले जानकारी दिनुभयो ।

त्यस्तै सबै भन्दा बढी देउखुरीमा रहेको लमही आँखा अस्पतालले लमही नगरपालिका भित्रका ४ सय ७ जना, गढवा गाउँपालिकामा ३ सय १० जना रापजपुर गाउँपालिका वडा नं ३ ले ५ जना र लमही नगरपालिका वडा नं. ६ ले ९ जनाको गरी ७ सय ३२ जना यस आर्थिक वर्षमा मोतिया विन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको नेत्र सहायक विमल घिमिरेले जानकारी दिनुभयो । त्यस्तै लमही आँखा अस्पतालले प्युठानको सरुमाई रानी गाउँपालिकामा समेत साझेदारी मार्फत उज्यालो अभियान पु¥याई ४९ जना मोतिया विन्दुका बिरामीहरूको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको छ ।

त्यस्तै छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जले कृष्ण नगर नगरपालिकाका वडा नंं. ३ देखि १२ वडा सम्ममा २ सय ५५ जना बिरामीहरूको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको बाह्य कार्यक्रम सहसंयोजक हरी भण्डारीले जानकारी दिनुभयो । त्यस्तै कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिकामा १ सय जना र शिवराज नगरपालिकामा ८० जना मोतियान्दिुका बिरामीहरूको आँखा शल्यक्रिया गरिएको प्रशासकीय अधिकृत जसराज विश्वकर्माको भनाई छ । यस अभियानले दृष्टि विहिन्ताको न्यूनीकरण हुनुका साथै उज्यालो अभियानले आर्थिक अभाव तथा अन्य कारणले घरमानै दृष्टि विहिन भएर बसेकाहरुलाई सहज भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिनुभयो । ‘हामीले हुनेसँग लिने र नहुनेलाई आँखा उपचार सेवा दिने हो त्यसमा पनि स्थानीय सरकारको पनि आँखा स्वास्थ्य सेवामा साझेदारी गरेर अगाडी बढऔं भन्ने हाम्रो उद्देश्य हो उहाँले भन्नुभयो ।’

त्यस्तै सरूमारानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले पालिकामा रहेको अन्धोपन न्यूनीकरण गर्न आफूहरू लागेको बताउनुभयो ।  ‘उज्यालो अभियान जनताका लागि अति आवश्यक कार्यक्रम हो पालिकाको अन्धोपन न्यूनीकरणका लागि साझेदारी कार्यक्रम गरी यो वर्ष कम्तीमा पनि आधालाई उज्यालो हामीहरुले प्रदान  गर्ने म प्रतिबद्धता जाहेर गर्छु — अध्यक्ष विश्वकर्माले भन्नुभयो । उहाँले यस आर्थिक वर्षमा करिब ४९ जनाको निःशुल्क मोतिया विन्दुको शल्यक्रिया गरेको भन्दै अव ३ सय २० जनाको शल्यक्रिया गर्नुपर्ने तथ्याङ्गले देखाएको र यस वर्ष आधा आँखा रोगीलाई शल्यक्रिया गरी उज्यालो प्रदान गर्ने बताउनुभयो ।

त्यस्तै दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले पनि आँखा अस्पताल र आफूहरूको साझेदारीमा पहिलो पटक सञ्चालन गरेको अभियान प्रभावकारी भएको बताउनुभयो । उहाँले  उज्यालो आँखा कार्यक्रमलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिइनेछ । सम्झौताभन्दा बढी मोतिया बिन्दुका बिरामीको शल्यक्रिया बापतको रकम आगामी आर्थिक वर्षमा भुक्तानी दिने गरी व्यवस्था मिलाइने नीति कार्यक्रममा समेत उल्लेख  गरेको बताउनुभयो  । त्यस्तै घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, तथा अन्य गाउँपालिका नगरपालिका र वडाहरुले पनि यस अभियानलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिने बताउनुभयो ।

नेपाल नेत्रज्योति संघको ‘‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’’ कार्यक्रमलाई सफल बनाउन सबै स्थानीय पालिकामा छलफल समेत भएको प्रमुख प्रशासक सम्शेर थापाले बताउनुभयो । उहाँले जनप्रतिनिधिले पालिकाका जनतालाई उज्यालो अभियान सञ्चालन गरी अन्धोपन निवारणका लागि साझेदारी गर्ने प्रतिबद्धता जनाएको समेत बताउनुभयो ।

नेपाल नेत्र ज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १ सय ५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखामार्फत  गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्