नेपाल भारतसँग पराजित



काठमाडौं । नेपालले एसीसी मेन्स इमर्जिङ कपमा दोस्रो हार बेहोरेको छ । सोमबार भएको खेलमा नेपाल भारतको ए टोलीसँग ९ विकेटले पराजित भएको हो । यो खेलमा नेपाली कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेपनि नेपालले ठूलो लक्ष्य दिन सकेन । केवल १ सय ६८ रनको लक्ष्य दिएकोमा भारतीय टोलीले १ विकेट गुमाएर २२.१ ओभरमै जित हासिल गरेको थियो ।

भारतीय ओपनर अभिषेक शर्मा र साइ सुदर्शनले पहिलो विकेटका लागि १ सय ३९ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको साझेदारी तोड्न १९ ओभरसम्म कुर्नु परेको नेपालको लागि हार तय भइसकेको थियो । अभिषेक (८७ रन) को विकेट रोहितले लिएका थिए । यसपछि सुदर्शन र ध्रुव जुरेलले कुनै विकेट पनि गुमाउन नदिइ भारतलाई जित दिलाए ।

नेपाली बलरमा कोही पनि प्रभावकारी हुन सकेनन् । सोमपाल कामीले २ ओभर फ्याँक्दा १९ रन खर्चे । पवन शर्राफले ८ ओभरको बलिङ गर्दा ४४ रन दिएका थिए । किशोर महतोले ३ ओभरमा ३३ रन दिए भने ललित राजवंशीले २ ओभरमा १६ रन दिएका थिए । गुलशन झाले २ ओभरमा २० रन खर्चे । नेपालको तर्फबाट एक मात्र विकेट लिएका रोहितले ५.१ ओभरमा ४० रन दिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ३९.२ ओभरसम्म मात्र खेल्न सकेको थियो । टोलीले सबै विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । नेपालका कप्तान रोहितले सर्वाधिक ६५ रन बनाएका थिए । उनी सातौं विकेटको रुपमा आउट हुँदा नेपालको स्कोर १ सय ४४ थियो । यसपछि तीन विकेट २३ रनमै गुमाएको थियो ।

नेपालका शीर्ष ब्याटरको उल्लेखनीय ब्याटिङ हुन सकेन । कुशल भुर्तेल खेलको दोस्रो बलमै आउट भए । उनलाई हर्शत रानाको बलमा एलबीडल्यू आउट भएका थिए । अर्का ओपनर अशिफ शेख ७ रनमा आउट भए भने देव खनाल १५ रन बनाएर आउट भए । तीन विकेट गुमाउँदा नेपालको स्कोर ३० मात्रै थियो । यसपछि ७ रन जोडिदाँ भीम सार्की र कुशल मल्ल पभेलियन फर्के । भीमले एक चौका प्रहार गरेका थिए । कुशलले रन बनाउन सकेन । संयोगवश यस खेलमा दुबै कुशल शून्यमै आउट भएका थिए ।

यसपछि छैटो विकेटका लागि रोहित र सोमपालले ५३ रनको साझेदारी गरे । यो नेपाली टोलीको तर्फबाट सर्वाधिक साझेदारी सावित भएको थियो । सोमपालको ब्याटबाट भने केवल १४ रन आएको थियो । रोहित आउट भएपछि गुलशनले नेपालको ब्याटिङ सम्हालेका थिए । तर, उनी धेरै बेर टिक्न सकेनन् । रोहित आउट भएर १८ रन जोड्दा गुलशन पभेलियन फर्कनु परेको थियो । गुलशनले ३६ रन जोडे ।

नेपालको यो प्रतियोगितामा दोस्रो हार थियो । यसअघि नेपाल पाकिस्तान ए सँग हारेको थियो । समूहमा नेपालले अर्को अन्तिम खेल बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्नेछ । नेपाल र यूएईले जितको लागि खेल्नेछन् । यो समूहमा पाकिस्तान र भारतले दुई दुई खेल जितेर सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्