ओन्सले यसपटक पनि उपाधि जितिनन् भोन्डरुसोभा विजेता



लन्डन, (एजेन्सी) । यसपटक पनि ओन्स जेबेउरले ग्रान्डस्लाम जित्ने धित मार्न सकिनन् । शनिबार भएको फाइनल खेलमा ट्युनिसियाकी यी युवा खेलाडीले शानदार शुरुवात गरेकी थिइन् । शुरुमै ३–० ले अग्रता लिने मौका थियो । तर, उनी मार्केटा भोन्डरुसोभाको सर्भिस बे्रक गरेर ३–० को अग्रता पुग्नबाट वंचित भइन् ।

फलस्वरुप भोन्डरुसोभाले २–२ बराबरीमा खेल ल्याएपछि ओन्सको खेलमा सुधार हुन सकेन र यो सेट ६–४ ले चेक खेलाडीले जितिन् । दोस्रो सेट पनि उनले ६–४ ले जितेपछि भोन्डरुसोभा यस वर्षको विम्बल्डनमा महिला सिंगल्सतर्फ विजेता बनिन् ।

गत वर्ष ओन्स फाइनलमा एरिना रिबाकीनासँग पराजित भएकी थिइन् । यो पराजयको बदला ओन्सले सेमिफाइनलमा एरिनालाई हराएर लिइन् पनि । यो जितपछि सेन्टर कोर्टमा उपस्थित दर्शक तथा खेल विज्ञहरुले ओन्सलाई विजेताको रुपमा वर्णन गरिसकेका थिए । तर, खेल शुरु भएपछि उनको लागि प्रतिकूल नतिजा आयो ।

प्रतिक्रिया दिनुहोस्