नेपालले हार टार्यो



काठमाडौं । सावित्रा भण्डारीको गोलमा बंगलादेशविरुद्धको दुई खेलअन्तर्गत पहिलो अन्तर्राष्ट्रिय मैत्री खेलमा नेपालले हार टारेको छ । बिहिबार भएको खेलमा १–० ले पछि परेको अवस्थालाई उल्टाउने क्रममा नेपालले १–१ बराबरीमा समाप्त गरेको हो ।

नेपाललाई सावित्राले हारबाट जोगाएकी हुन् । उनले ४ मिनेट थपिएको इन्जुरी समयमा गोल गर्दै नेपाललाई बराबरीमा पु¥याएकी थिइन् । विपक्षी खेलाडीले बल क्लियर राम्ररी गर्न नसकेको लाभ उनले लिएकी थिइन् । राष्ट्रिय टोलीबाट सावित्राको यो व्यक्तिगत ४४ औं गोल हो ।

ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा कप्तान सविना खातुनको गोलबाट बंगलादेशले अग्रता लिएको थियो । ६५ औं मिनेटमा उत्कृष्ट तालमेलसहित सविनाले पेनाल्टी बक्सबाट गोल गरेकी थिइन् । सरु लिम्बुको मिस पासमा प्राप्त बललाई अघि बढाउँदै बंगलादेशका खेलाडीले नेपालको कमजोर रक्षापंक्तिको फाइदा उठाएका थिए ।

गत वर्ष भदौमा काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलपछिको पहिलो भेटमा नेपाली टोलीले हार बेहोरेको थियो । त्यति बेला पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने क्रममा बंगलादेशले नेपाललाई ३–१ ले हराएको थियो । नेपालको महिला फुटबल टोलीले पनि अहिले सम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन । दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्