मेक्सिको र पानामाबीच उपाधि भिडन्त



वाशिंटन, (एजेन्सी) । मेक्सिको र पानामाले उत्तरी तथा मध्य अमेरिकाको प्रतिष्ठित फुटबल प्रतियोगिता कोनकाकाफ गोल्ड कप २०२३ को उपाधिका लागि खेल्ने भएका छन् ।

अमेरिका र क्यानाडाले संयुक्त रुपमा आयोजना गरेको यस प्रतियोगिता अन्तर्गत बिहिबार बिहान भएको सेमिफाइनलमा मेक्सिकोले जमैकालाई तथा पानामाले अमेरिकालाई हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन् । अमेरिकाको नेभाडास्थित एलेजाइन्ट स्टेडियममा भएको सेमिफाइनलमा मेक्सिकोले जमैकालाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । मेक्सिकोको सानदार जितमा हेनरी मार्टिन, लुइस चाभेज र रोबेर्टो अल्भाराडोले गोल गरेका थिए ।

मेक्सिकोले खेलको ८० सेकेन्डमै अग्रता लिएको थियो । मेक्सिकोका लागि हेनरी मार्टिनले उक्त गोल गरेका थिए । उनले जिसस गाल्लार्डोको क्रसमा जमैकाका गोलरक्षक आन्द्रे ब्लेकलाई कुनै मौका नै नदिई आठ यार्डको दूरीबाट उक्त गोल गरेका थिए । यस प्रतियोगितामा तेस्रो गोल गरेका उनले राष्ट्रिय टोलीबाट भने आफ्नो गोलसंख्या नौ पु¥याएका छन् ।

त्यसपछि खेलको ३०औं मिनेटमा लुइस चाभेजले गोल गर्दै पहिलो हाफसम्म मेक्सिकोलाई २–० ले अघि राखेका थिए । चाभेजले फ्रीकिक मार्फत् २५ यार्डको दूरीबाट प्रहार गरेको बलले गोलपोस्टको जाली चुमेको थियो । चाभेजको पनि जारी प्रतियोगितामा यो तेस्रो गोल हो ।

त्यसैगरी खेलको ९० मिनेटपछि थपिएको इन्ज्युरी समयको तेस्रो मिनेटमा गालार्डोले ट्याप गर्दै दिएको पासमा अल्भाराडोले गोल गरेपछि मेक्सिकोले खेलमा ३–० को सहज जित निकाल्यो । यसअघि मेक्सिको २०२१ को संस्करणमा पनि फाइनलमा प्रवेश गरेका थिए । उक्त फाइनलमा अमेरिकासँग पराजित भएपछि मेक्सिको उपविजेतामा सिमित बनेको थियो ।

त्यसैगरी बिहीबार बिहानै भएको अर्को सेमीफाइनलमा आयोजक अमेरिकालाई सड़न डेथमा हराउँदै पानामाले पनि फाइनलको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलरहित बराबरीमा रोकिएपछि खेलमा अतिरिक्त ३० मिनेट थपिएको थियो । जसमा दुवै टोलीले १–१ गोल गरेका थिए ।

खेल विजेताको निर्णयका लागि टाईब्रेकरको सहारा लिनुप¥यो । जसमा निर्धारित पाँचवटा प्रहारमा दुवै टोलीले चार–चार गोल गरेपछि खेल सडन डेथमा गएको थियो । जसमा पानामाले बाजी मार्दै फाइनलको यात्रा सुरक्षित गरे । सडन डेथमा पानामाका कारासक्विलाले गोल गर्दा अमेरिकाका रोल्याण्डको प्रहार गोल हुनबाट चुकेको थियो ।

त्यसअघि खेलमा थपिएको ३० मिनेटको अतिरिक्त समयको ९९औं मिनेटमा ईभान एन्डरसनले गोल गर्दै पानामालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, उक्त अग्रता धेरै समयसम्म भने टिक्न सकेन । खेलको १०५औं मिनेटमा जिसस फेरेराले गोल गर्दै अमेरिकालाई खेलमा फर्काएका थिए । यो हारपछि अमेरिका सन् २०१५ पछि पहिलो पटक यस प्रतियोगिताको फाइनलमा पुग्नबाट रोकियो ।

२०१५ को संस्करणको सेमिफाइनलमा अमेरिका जमैकासँग पराजित भएको थियो । अमेरिकाले अहिलेसम्म सात पटक कोनकाकाफ गोल्ड कपको उपाधि जितिसकेको छ । अर्कोतिर जितसंगै यो समेत तीन पटकका फाइनलिस्ट पानामाले भने जुलाई १६ मा लस एन्जेल्सको सोफी स्टेडियममा उपाधिका लागि प्रतियोगिताकै सर्वाधिक आठ पटकका विजेता मेक्सिकोको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्