आर्मीलाई हराएर पुलिस दोस्रो स्थानमा



काठमाडौं । नेपाल पुलिस क्लबले सातौ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग प्रतियोगितामा दोस्रो स्थानमा उक्लिएको छ ।

बिहीबार त्रिपुरेश्वर स्थित कभर्ड हलमा भएको पुरुषतर्फ खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराएको हो । पुलिसले २५–२१, २८–२६, २५–१४ सेटमा आर्मीलाई पराजित गरेको हो । योसँगै पुलिसको ५ खेलबाट १२ अंक भएको छ । आर्मीको पाँच खेलमा ११ अंक भएको छ । यो आर्मीको पहिलो हार समेत थियो ।

नेपाल भलिबल संघको आयोजनामा भएको लिग खेलको अर्को खेलमा टिपटप हेल्प नेपालले लगातार पाँचौं जित हात पा¥यो । टोली शीर्ष स्थानमै रहेको छ । निकै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमा हेल्प नेपालले एपिएफलाई ३–२ सेटमा पराजित गरेको थियो । पहिलो दुई सेट २७–२५, २५–१७ ले जितेर हेल्प नेपालले २–० को अग्रता लिएको थियो । यसले खेल सहजै जित्ने अनुमान गरिएको थियो ।

तर, एपीएफले आफ्नो प्रदर्शन निखार्दै तेस्रो र चौथो सेट जितेर खेल रोमाञ्चक बनाइदियो । एपिएफले तेश्रो र चौथो सेट क्रमशः २५–२१ २५–२३ ले जितेको थियो । पाँचौं तथा निर्णायक सेटमा हेल्प नेपालले म्याच प्वाइन्ट बचाएर १६–१४ मा सेट जित्न सफल भयो । एपिएफ १४–११ को स्थितीमा रहँदै म्याच प्वाइन्ट कुरेको कुरै भयो । हेल्प नेपालले लगातार ५ अंक जोडेर एपीएफलाई हराउन सफल भएको थियो । एपिएफको ११ अंक भएको छ । समान अंक भएता पनि अंक रेसियोका आधारमा एपिएफ आर्मी भन्दा पछाडी रहेको छ ।

महिला तर्फको खेलमा भने आर्मी र एपिएफले जित हात पारेर पुरुषतर्फ हारेको निरासालाई खुशीमा बदले । आर्मीले एक पक्षिय खेलमा एभरेष्ट भलिबल क्लबलाई २५–१२, २५–१९, २५–१९ ले पराजित गरेको थियो । अर्को खेलमा एपिएफले न्यु डायमण्डलाई २५–१९, २५–१८, २५–१२ ले पराजित ग¥यो ।

पुलिस ४ खेलबाट १२ अंक, एपिएफ ५ खेलबाट ११ अंक, न्यु डायमन्ड ४ खेलबाट ८ अंक, आर्मी ४ खेलबाट ५ अंक, गण्डकी ४ खेलबाट ३ अंक र एभरेष्ट ५ खेलबाट ० अंकमा रहेका छन् । अंकका आधारमा पुलिस फाईनल प्रवेश गरेको छ ।

गण्डकीको पहिलो जित

गण्डकी प्रदेशले जारी प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । गण्डकीले शैलुङ बागढुङ्गा स्पोर्ट्स क्लबलाई ३–२ को सेटमा पराजित गर्दै पहिलो जित प्राप्त गरेको हो । गण्डकीले २५–१६, २५–१३, १९–२५, २०–२५ र १५–६ को सेटमा खेल जित्यो । गण्डकी यसअघि लगातार चार खेलमा पराजित हुँदै फाइनल दौडबाट बाहिरिएको थियो । गण्डकीले शुक्रबार अन्तिम खेल दावाली मिलन क्लबसँग खेल्नेछ । शैलुङ ६ खेलमा ५ मा हार र १ मा जितसहित छैटौं स्थानमा रहेर बाहिरयो । गण्डकी ५ खेलमा १ मा जित र ४ मा हारसहित पाँचौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्