विश्वप्रसिद्ध सन्तहरुको जीवनी बजारमा



काठमाडौं ।

विश्वप्रसिद्ध ५५ सन्तहरुको जीवनी संकलित पुस्तक साहित्यकार तथा योगाचार्य उद्धवप्रसाद भट्टराईले बिहीबार सार्वजनिक गर्नुभएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झालगायतका सात महानुभावले एक समारोहका बीच काठमाडौंमा ‘विश्वप्रसिद्ध सन्तहरुको जीवन चरित्र’ नामक सो किताव लोकार्पण गर्नुभएको हो ।

संस्कृत भाषाका आदिकवि वाल्मीकि, महर्षि याज्ञवल्क्य, अठार पुराणका रचयिता वेदव्यास, महामुनि शुकदेव, सिद्धार्थ गौतम बुद्ध, जिसस क्राइष्ट, शङ्कराचार्य, सुकरात, महावीर स्वामी, हजरत मुहम्मद लगायतका सन्तहरुको जीवनी समेटिएको यस कितावमा नेपालका स्वामी प्रपन्नाचार्यसम्म अटाएका छन् ।

हंसदा आश्रमका प्रमुख संरक्षक स्वामी नीलकण्ठानन्द गिरीको सभापतित्वमा सम्पन्न पुस्तक लोकार्पण कार्यक्रममा योगी, सन्त र समाजसेवीहरु डा. इन्दुल केसी, सुशील महात्मा, ऋषिकुमार पञ्चशील,कल्याण मित्र, अच्युतप्रसाद पौडेल, घमा भट्टराई लगायतले सम्वोधन गर्नुभएको थियो ।

लोकार्पण कार्यक्रममा प्रमुख वक्ताहरुमा पूर्वसांसद देवशंकर पौडेल, बैंकर्स विनोदकुमार गुरागाईं, महिला संघ काठमाडौंकी अध्यक्ष विष्णुदेवी पुडासैनी पनि हुनुहन्थ्यो ।
युवा व्यक्तित्व नेत्रप्रसाद पौडेलको उद्घोषण रहेको सो कार्यक्रममा प्रमुख अतिथि तथा प्रथम उपराष्ट्रपति झाले नेपाल र भारतलाई ऋषि र सन्तहरुको खानी भन्दै उनीहरुको चरित्रलाई आम नागरिकले व्यववहारमा उतार्नु आवश्यक रहेको र यसका लागि साहित्यकार भट्टराईजस्ता अनुसन्धानकर्ता तथा लेखकले बाटो देखाउनैपर्ने धारणा राख्नुभयो ।

‘ऋषिमुनी सन्तहरुका जीवनबाट हामीले धेरै शिक्षा लिनसक्छौं तर, विगतको सामन्तवादी समाजका चार महापापका कारण धेरै असल र उपयोगी विचार पनि ओझेलमा परेका छन्’ पूर्वसांसद पौडेलले सतीप्रथा, छुवाछुत, दासप्रथा र जार काट्ने चलनलाई चार कलंकका रुपमा व्याख्या गर्नुभयो । उहाँले भन्नुभयो, ‘आज हामी पूँजीवादी युगमा छौं, जोसँग पूँजी छ उसैको बोलबाला छ, व्यापार गर्न मात्र होइन सांसद हुन पनि पूँजी चाहिन्छ, जोसँग पूँजी छैन उसले कुनै अवसर पाउँदैन ।’ यस्तो समयमा लेखक भट्टराईको कितावले समाजलाई पूँजीका अतिरिक्त त्याग, समर्पण र समाजसेवालाई महत्व दिन सघाउने पूर्वसांसद पौडेलको धारणा थियो ।

कितावका सन्दर्भमा स्वामी नीलकण्ठानन्द गिरीले भन्नुभयो, ‘परमात्मालाई हृदयमा धारण गरेका सन्तहरु तीर्थरुप हुन्छन् । उहाँहरुको उपस्थितिबाट नै ढुंगा, माटा, नदी, पहाड, खोलाजस्ता जड वस्तु पनि पवित्र भई तीर्थ बन्छन् । अतः यस्ता महान् सन्तहरुको चरित्रलाई श्रवण–मनन गर्नाले पाठक वर्ग पनि अवश्य तीर्थ बन्नेछन् ।’

लोकापर्ण कार्यक्रममा प्रमुख अतिथि झाले कितावका प्रकाशक शान्ता भट्टराई तथा अन्य सहयोगीलाई माला लगाएर अभिनन्दन गर्नुभएको थियो । चार सय ७० पृष्ठको ‘विश्वप्रसिद्ध सन्तहरुको जीवन चरित्र’ को मूल्य एक हजार रुपियाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्