३७ वर्षे शिक्षण सेवामा गुरुले भोगेका अनुभव



काभ्रे । 

विक्रम सम्वत २०४३ साल पौष २९ गतेदेखि पाँचखाल नगरपालिका १३ कोशिदेखा राम माविमा कार्यरत शिक्षक राजमान तामाङले शिक्षण सेवाको ३७ वर्षे अनुभवका अनुभूति सार्वजनिक गर्नु भएको छ । विद्यालयलाई निरन्तर प्रगति, उन्नति र समुन्नति बनाउँदै शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याउनु भएका राजमानको नेतृत्वमा विद्यालयले गरेका शैक्षिक र भौतिक प्रगतिको समीक्षा पनि गरेको छ ।

२०४३ सालमा अस्थायी शिक्षकको नियुक्ति लिएका राजमान २०४७ साउन १ गतेदेखि स्थायी हुनुभयो । २०५२ वैशाख ४ गते प्रधानाध्यापकको जिम्मेवारी प्राप्त गर्नु भएका राजमानले २०५२ मसिंर देखि २०५३ वैशाखसम्म ६ महिना बेतलवी बिदा लिनु भयो । पुनः विद्यालयमा निरन्तर कार्यरत उहाँले २०६४ फागुन १६ देखि सोही विद्यालयमा सहायक प्रधानाध्यापकको जिम्मेवारी प्राप्त गर्नु भयो । २०६७ साउन १७ गते देखि लागू हुने गरी २ वर्षको अध्ययन बिदा लिए पनि २०६७ चैत्र १ गते देखि नै पुनः विद्यालयमा कार्य गर्न थाल्नु भयो ।

विद्यालय व्यवस्थापन समितिले उहाँको आवश्यकता महसुस ग¥यो र विद्यालयमा हाजिर गर्न अनुरोध ग¥यो । २०६८ जेठ ३० गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले पुनः उहाँलाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय ग¥यो । उहाँको नियुक्तिविरुद्ध सहकर्मी शिक्षकहरुनै शिक्षा कार्यालयमा उजुरी बोकेर पुग्नुभयो । तर पनि त्यसको कुनै प्रवाह नगरी विद्यालयको शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राखेर राजमानले कार्य गरिरहनु भयो । १२ वर्षसम्म निरन्तर प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएका राजमान अब शिक्षकका रुपमा मात्रै कार्यरत हुनुहुन्छ । २०८० असार १० गतेबाट उहाँ प्रधानाध्यापकको जिम्मेवारी छाडेर शिक्षकको भूमिकामा मात्रै कार्यरत हुनुहुन्छ ।

तत्कालीन जिल्ला शिक्षा अधिकारी नारायण भट्टको टोलीले विद्यालयलाई थप अघि बढाउन सहयोग गर्ने प्रतिबद्धता ब्यक्त ग¥यो । विद्यालय भवन जीर्ण भएकोले भौतिक पूर्वाधार विकास पहिलो प्राथमिकतामा राखेर बाल सहयोग केन्द्र गौशाला समक्ष प्रस्ताव पेस भयो । २०६९ वैशाख २७ गते बाल सहयोग केन्द्रका पदाधिकारीहरु तथा डा.शेखर रिजालको उपस्थितिमा २ वटा हल कोठा सहित ८ वटा कक्षा कोठा भएको भवनको शिलान्यास भयो । २०७१असोज ११ गते उक्त विद्यालय भवनको उद्घाटन भयो । विद्यालयमा पुस्तकालय र कार्यक्रम कक्ष समेत पुरा भयो । सोही अवधिमा हेल्थ केयर नेपालको सहयोगमा ४ कोठे भवन निर्माण सम्पन्न भइसकेको थियो । उक्त भवनको २०६६ पौष ३० गते उद्घाटन भएको थियो । नव निर्मित भवनका कक्षा कोठाहरुमा आवश्यक फर्निचरहरुको व्यवस्थापन भइसकेको थियो । यी भवनहरुको निर्माणले शिक्षक विद्यार्थीहरुले घामपानी र हुरीबतासको कारणले अध्ययन अध्यापन गर्न छोड्नु पर्ने बाध्यताबाट मुक्ति पाएका थिए ।

भौतिक पूर्वाधारमा प्राप्त सफलताले शैक्षिक गुणस्तर वृद्धिमा लाग्न प्रेरित गरिरहेको प्रधानाध्यापक राजमान तामाङले बताउनु भयो । बालकक्षालाई आकर्षक र बालमैत्री बनाउँदै कक्षा १–५ मा अध्यापनरत शिक्षकहरुलाई रातो बंगला फाउण्डेशनको एक महिने लामो तालिममा गुल्मीमा पठाएर शिक्षाको गुणस्तर शुरु भयो । उक्त तालिम पश्चात् शैक्षिक गुणस्तर वृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह ग¥यो जुन आजसम्म क्रियाशील छ । अङ्ग्रेजी भाषाप्रति अभिभावकको रुचि बढिरहेको अवस्थामा पुनः अङ्ग्रेजी माध्यममा कक्षा १ मा अध्यापन गर्न सुरुवात गरी क्रमशः कक्षा ५ सम्म पु¥याउने लक्ष्यका साथ विद्यालयले योजना अघि बढायो र सफल भयो ।

३६ औँ राष्ट्रिय शिक्षा दिवस २०७२ मा शिक्षा मन्त्रालयबाट शिक्षा दिवस पदक सहित प्रमाण पत्र प्राप्त गर्नुका साथै तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगल कुमारी थापा सम्मानित हुनु भएको थियो । पाँचखाल नगरपालिकाको पाँचौँ वार्षिक उत्सव तथा नगरपालिका स्थापना दिवसको अवसरमा पाँचखाल नगरपालिकाद्धारा सम्मान पत्र सहित सम्मानित गरेको थियो ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले पक्की भवनमा कुनै क्षति पु¥याएन । खुला आकाशमुनि चौरमा अध्ययन अध्यापन गराउनु पर्ने अवस्था भएन । बालबालिकाहरु विद्यालय भवनमै रहेर अध्ययन गर्ने अवसर प्राप्त गरे । विनाशकारी भूकम्पको त्रासदीपूर्ण समयमा तीन जना अमेरिकन महिलाहरुले स्वयम सेवक गर्नु भयो । बालबालिकाहरुका लागि पोसाक उपलब्ध गराउनु भयो । उहाँहरु स्वदेश फर्किए पछि विद्यालयको क्षतिग्रस्त पुराना भवन पुर्न निर्माणको लागि १५ लाख रुपैया सहयोग प्राप्त भयो । तत्कालीन अमेरिकी राजदूत पिटर बोडेको विद्यालय भ्रमण पश्चात् ८ लाख ६९ हजार ६ सय प्राप्त भयो ।

विभिन्न दाताहरुको सहयोग र समन्वयमा विद्यालयले आजको सञ्चार र प्रविधिको युगमा परीक्षामा सामेल भई सफल हुँदैमा विश्वका कुनैपनि कुनामा गई जीवनयापन गर्न सम्भव नहुने भएकोले समयको माग अनुसार सक्षम, दक्ष, अनुशासित र योग्य नागरिक उत्पादन गर्न सक्ने शैक्षिक केन्द्रको रुपमा विकास गर्ने विद्यालयको दूरदृष्टि अनुसार अध्ययन अध्यापनको लागि प्रविधिमैत्री कक्षा सञ्चालनको व्यवस्थापन गरेको छ । विद्यालयमा पक्की भवन र सुविधायुक्त शौचालय, स्वच्छ पिउने पानीको व्यवस्था, आकासे पानी संकलन, इन्टरनेटको व्यवस्था, विज्ञान प्रयोगशाला, कम्प्युटर कक्षाको व्यवस्था, ई.पुस्तकालयको व्यवस्थापन, पुस्तकालय स्थापना, विद्यालय नर्स सहितको प्राथमिक उपचार कक्षको व्यवस्था, गणित प्रयोगशाला, विभिन्न ल्यावहरु संचालनमा छन् ।

विद्यालयको शैक्षिक स्तरलाई गुणस्तरीय बनाउन विभिन्न कार्यक्रम लागू गर्दै जाने, विद्यालयको दूर दृष्टि अनुसार शिक्षालाई जीवनोपयोगी बनाउने कार्यक्रमहरु सञ्चालन गर्ने, विद्यालयको भौतिक अवस्थालाई क्रमशः सुधार गर्दै जाने योजना बनाएको छ । एक्सन, प्रोजेक्ट, स्किल, कल्चर, चाईल्ड, इको, करिकुलम, आईटी मैत्री कार्यक्रम संचालन गर्ने विद्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्