विपन्न विरामीका लागि निःशुल्क शय्या, कोशी अस्पतालमा ३ सय ३० शय्या निःशुल्क



विराटनगर । वीर अस्पतालमा ७ सय शैया विपन्न विरामीका लागि निस्शुल्क गराएको एक हप्ता नपुग्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विराटनगरस्थित कोशी अस्पतालमा विपन्नका लागि ३ सय ३० शय्या निःशुल्क उपचार गर्ने निर्णय गर्नुभएको छ । आकस्मिक निरीक्षणको क्रममा मंगलबार विराटनगर पुग्नु भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतको निर्देशनमा कोशी अस्पतालले आईसियू, एचडियू र क्याबिन बाहेकका ३ सय ३० शय्या निःशुल्क गरिएको हो ।

स्वास्थ्य मन्त्रालय मातहतका सरकारी अस्पतालहरुले जनताको संवैधानिक अधिकारलाई व्यवहारमा लागू गर्दै जाने क्रममा विपन्न, असहाय र बेवारिसे विरामीको उपचार निःशुल्क गर्न आफूले निर्देशन दिएपछि कोशी अस्पतालले आजैदेखि निःशुल्क गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले विपन्न विरामीका लागि शय्यामात्र निःशुल्क नभएर उपचार पनि निःशुल्क हुने बताउनुभयो । कोशी अस्पतालका प्रमुख डा. रविनराज सिंहले स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन अनुसार ३ सय ३० शय्या निःशुल्क गरेको जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले वीर अस्पतालबाट सुरु गरेको विपन्नका लागि शय्या निःशुल्क गर्ने अभियान राजधानी बाहिरबाट पहिलो पटक कोशीबाट सुरु गरिएको र भविस्यमा देशका अन्य सरकारी अस्पतालमा पनि सुरु गर्न लागेको बताउनुभयो । निःशुल्क उपचार पाउनका लागि स्थानीय वडाबाट विपन्न, असहाय वा बेवारिसे भएको सिफारिस ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

कोशी अस्पतालको टिकट काउन्टरमा भीड र अव्यवस्थित देखिएको पाइएपछि मन्त्री बस्नेतले उपचार सेवा सहज बनाउन अनलाईनबाट समेत टिकट काट्न पाउने व्यवस्था गर्न अस्पतालका निर्देशकलाई निर्देशन दिनु भएको थियो । निरीक्षणमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल पनि सहभागी हुनुहुन्थ्यो ।

त्यसैबीच मंगलबार नै मन्त्री बस्नेतले अमेरिका नेपाल मेडिकल फाउन्डेसनको सहयोगमा झापाको आम्दा अस्पताललाई एक करोड २५ लाख पर्ने अक्सिजन हस्तान्तर समेत गर्नुभएको थियो । सो अवसरमा स्वास्थ्य मन्त्रालयका अधिकारीका साथै न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतको पनि उपस्थिति रहेको थियो ।

मन्त्री बस्नेतले मंगलबार नै विराटनगरको पथरी नगर अस्पताल, किओच बाल अस्पताल, दमक नगर अस्पताल र बिर्ता सिटी अस्पताललगायतका अस्पतालहरुको निरीक्षण गरेर सहज रुपमा उपचार सेवा प्रदान गर्न अस्पतालका अधिकारीहरुलाई निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्