नेपाल वेस्ट इन्डिजसँग पराजित



काठमाडौं । नेपालले जिम्बावेमा जारी आईसीसी क्रिकेट विश्वकप छनोट चरणअन्तर्गत आफ्नो तेस्रो खेलमा पराजय बेहोरेको छ ।

बिहीबार हरारेमा भएको खेलमा नेपाल वेस्ट इन्डिजसँग १ सय २ रनले पराजित भएको हो । वेस्ट इन्डिजले ३ सय ४० रनको विशाल लक्ष्य दिएकोमा नेपाली टोली २ सय ३८ रनमै समेटिएको थियो । यो नेपालको जारी प्रतियोगितामा दोस्रो हार हो । यसअघि घरेलु टोली जिम्बावेसँग पराजित भएको नेपालले अमेरिकालाई हराएको थियो ।

नेपालले सुपर सिक्समा पुग्न अन्तिम खेलमा नेदरल्यान्ड्सलाई हराउनै पर्ने भएको छ । नेपाल रहेको समूह ए मा जिम्बावे र वेस्ट इन्डिजले ४÷४ अंक जोडेका छन् । यी दुबै टोली बलियो देखिएका छन् । नेदरल्यान्ड्स र नेपालले २÷२ अंक जोडेका छन् भने तीन खेल हारिसकेको अमेरिका भने समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ ।

नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको थियो । यो निर्णय कहि न कहि टोलीको लागि घातक सिद्ध भयो । शुरुवातमा वेस्ट इन्डिजका ब्याटिङलाई अंकुश लगाउँदा नेपालका कप्तान रोहित पौडेलको निर्णय सहि पनि भएको थियो । तर, जब क्रिजमा वेस्ट इन्डिजका कप्तान शाइ होप र निकोलास पूरणले जताततैबाट रन बटुले । यसपछि भने नेपालको निर्णय गलत सावित हुदै गएको थियो ।

५५ रनमा नेपालले तीन महत्वपूर्ण विकेट लिएको थियो । १६ ओभरको तेस्रो बलमा तेस्रो विकेटको रुपमा ओपनर ब्रेन्डन किंगलाई सन्दीप लामिछानेले आउट गरेका थिए । किंगले ३२ रन बनाएका थिए । यसपछि नेपालले विकेट गिराउन सकेन । किंग आउट भएपछि आएका पूरणले उनका कप्तान होपलाई निरास गरेनन् । यी दुबैले शतक प्रहार गरेका थिए । यिनीहरुले नेपाली बलरको कुनै पनि रणनीति चल्न दिएनन् र चौथो विकेटका लागि २ सय १६ रन साझेदारी गरे ।

पूरण १ सय १५ रन जोडेर आउट हुँदासम्म वेस्ट इन्डिजको स्कोर २ सय ७१ मा पुगिसकेको थियो । यसपछि अझै ६ ओभर खेल्न बाँकी थियो । बाँकी ६ ओभरमा वेस्ट इन्डिजले ६८ रन बटुलेर निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ३९ रन बनायो । यसमा होपले सर्वाधिक १ सय ३२ रन बनाए । शुरुवाती १५ ओभरमा ५० रन बनाउन पनि धौ धौ भएको वेस्ट इन्डिजले बाँकी ३५ ओभरमा २ सय ५० भन्दा बढी रन जम्मा गरेको थियो । यसले नै नेपालको लागि जवाफी ब्याटिङमा दवाव बनाइदियो ।

नेपाली बलरको प्रदर्शन

नेपाली बलरमा ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । उनले १० ओभरमा ५२ रन दिएर यति विकेट लिनु पनि सफल बलरको रुपमा दर्शायो । सन्दीप लामिछानेले १ विकेट लिए तर, एक विकेट लिन ५० रन खर्चे । शुरुवातमा विकेट लिएर सनसनी मच्चाएका करण केसी पनि पछि महगो सावित भए । उनले १० ओभरमा ८१ रन दिएका थिए ।

यस्तै गुलशन झाले ८ ओभरमा ४८ रन दिएर १ विकेट हासिल गरे । दीपेन्द्रसिंह ऐरीले पनि १ विकेट लिन ७ ओभरमा ४५ रन खर्चेका थिए । कुशल मल्लले १ ओभर फ्याल्दा ८ रन दिए भने आरिफ शेखले ४ ओभरमा ३३ रन खर्चे पनि उनलाई विकेट प्राप्त भएन ।

आरिफको अर्धशतक

नेपालले निर्धारित ४९.३ ओभर खेलेर २ सय ३८ रन बनायो । नेपालको ब्याटिङमा कुनै बेला पनि जितको छनक देखिएको थिएन । शुरुवातमा दुई विकेट गुमाइसकेपछि नै नेपालले डिफेन्स खेल खेल्न थालेको थियो । नेपालले एक दुई रन लिएर ब्याटिङ अगाडि बढाएको थियो र केही मौकामा बाउन्ड्री पनि प्रहार गरेको थियो

नेपालको लागि सर्वाधिक रन आरिफ शेखले बनाए । उनले अर्धशतक प्रहार गरेका थिए । उनले ५० रन बनाउँदा मात्र तीन चौका सामेल थियो । उनी ६३ रनमा आउट भएका थिए । यस्तै कप्तान रोहित पौडेलले ३० रन, दीपेन्द्र सिंहले २३ रन, आसिफ शेखले २८ रन, गुलशनले ४२ रन बनाएका थिए । अघिल्ला दुई खेलमा राम्रो खेलेका कुशल भुर्तेल यसपटक ५ रनमै आउट भएका थिए । उनलाई जोसेफले क्लिन बोल्ड गरेका थिए । करणले २८ रन जोडेका थिए ।

प्रतिक्रिया दिनुहोस्