हुम्लाको सर्केगार्डमा आँखा शिविर : मोतियाविन्दु भएका ९० जनाको शल्यक्रिया



हुम्ला।

हुम्लाको सर्केगार्डमा ९० जनाले मोतियाविन्दुको निःशल्क शल्यक्रियाबाट आँखाको ज्योति पाएका छन् ।

तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सर्केगार्ड गाउँपालिकामा असार १ र २ गते सञ्चालन गरेको शिविरबाट ४२ महिला र ४८ पुरुष गरी जम्मा ९० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।

यस्तै, दुई सय ४४ जनाको आँखाको जाँच गरिएको प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङले जानकारी दिनुभयो । “हुम्लाको मध्य भागमा पर्ने सर्केगार्डमा सिमीकोटबाट दुई दिनको पैदल यात्रापश्चात् हाम्रो टोली यस स्थानमा पुगेको थियो । शिविरमा जिल्लाको ताँजकोट, अदानचुली, चङ्खेली र सर्केगार्डका आँखा बिरामीहरूले सेवा लिनुभएको छ”, उहाँले भन्नुभयो ।

सर्केगाडका ६८ वर्षीय स्थानीय बैरा फडेराले शल्यक्रियापश्चात् तीन वर्षदेखि गुमेको आँखाको ज्योति फर्किएकामा खुसी व्यक्त गर्नुभयो । अर्का स्थानीय जमकला सार्की विगत दुई वर्षदेखि गुमेको आँखाको दृष्टि पुनः प्राप्त गरेपछि चिकित्सकप्रति आभार प्रकट गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठान र सर्केगार्ड गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित सो शिविरका लागि सेवा फाउन्डेसनले आर्थिक सहयोग गरेको थियो ।

सर्केगार्डमा ग्रामीण आँखा उपचार केन्द्र स्थापना

प्रतिष्ठान र गाउँपालिकाको संयुक्त व्यवस्थापन एवं सेवा फाउन्डेसनको सहयोगमा साँया स्वास्थ्य चौकीमा ग्रामीण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । दुर्गममा सेवा प्रवाह गर्ने उद्देश्यअनुसार शिविर सञ्चालन र केन्द्र स्थापना गरिएको प्रतिष्ठानका कार्यकारी अधिकृत डा गुरुङले बताउनुभयो ।

केन्द्रका लागि प्रतिष्ठानले एक वर्षका लागि दुईजना जनशक्तिको व्यवस्थाका साथै उपचारका लागि चाहिने उपकरणहरूको व्यवस्था गर्ने बताएको छ ।

त्यस्तै, गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले केन्द्रको स्थापनासँगै आँखाको परीक्षण र आँखा सम्बन्धित सबै खाले रोगको उपचार सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्