काठमाडौँ ।
टीभीएस मोटर कम्पनीले नेपालमा आफ्नो पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन (ईभी) शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी नयाँ शोरुमको उद्घाटन गरेको हो ।
टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बाली र नेपाली अभिनेता प्रदीप खड्काले संयुक्त रूपमा शोरुम उद्घाटन गर्नुभएको थियो । नयाँ शोरुम सञ्चालनसँगै नेपाली बजारमा टीभीएसको उपस्थिति थप विस्तार हुनुका साथै प्रिमियम मोटरसाइकल र विद्युतीय सवारीसाधनका ग्राहकले एउटै स्थानबाट विभिन्न मोडलको अनुभव लिन पाउने कम्पनीले जनाएको छ ।
शोरुम उद्घाटनको अवसरमा भव्य बाइक र्यालीसमेत आयोजना गरिएको थियो । कार्यक्रममा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बाढी प्रभावित क्षेत्रका विभिन्न सरकारी तथा सामुदायिक संस्थालाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ ।
टीभीएस मोटर कम्पनीका प्रतिनिधि सुगन्धा सिंह र अश्विनले मोटरसाइकलका साँचो हस्तान्तरण गर्नुभएको थियो । उक्त सहयोगबाट नुवाकोट जिल्ला प्रहरी कार्यालय, नुवाकोट केन्द्रीय कारागार, विदुर नगरपालिका, विदुर जिल्ला अस्पताल, विदुर सरकारी विद्यालय, रसुवा जिल्ला प्रहरी कार्यालय, आमाछोदिङ्मो गाउँपालिका, आमाछोदिङ्मो सरकारी विद्यालय तथा अस्पताल र उत्तरगया गाउँपालिका, सरकारी विद्यालय तथा अस्पताल लाभान्वित भएका छन् ।
कम्पनीका अनुसार मोटरसाइकल सहयोगले बाढी प्रभावित क्षेत्रका संस्थाहरूको सेवा प्रवाह, पहुँच तथा पुनःस्थापनासम्बन्धी कामलाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा कलाकार सौगात तामाङले विशेष रूपमा डिजाइन गरेको कस्टमाइज हेल्मेटसमेत सार्वजनिक गरिएको थियो । नेपाली कला र सिर्जनशीलतालाई टीभीएसको प्रिमियम ब्रान्ड पहिचानसँग जोड्ने उद्देश्यले तयार पारिएको उक्त हेल्मेटले कार्यक्रममा थप आकर्षण थपेको थियो ।
टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेमन कार्गरले नेपाल कम्पनीका लागि महत्वपूर्ण बजार रहेको बताउनुभयो । नेपालमा पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालन हुनु नेपाली बजारमा कम्पनीको लगानी र विस्तार यात्राको महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ थियो ।
उहाँले टीभीएसले सवारीसाधन बिक्रीमा मात्र सीमित नभई आफूले सेवा प्रदान गर्ने समुदायमा सकारात्मक प्रभाव पार्न पनि प्राथमिकता दिँदै आएको बताउनुभयो । बाढी प्रभावित क्षेत्रका विभिन्न संस्थालाई २५ वटा मोटरसाइकल हस्तान्तरण गर्नु समुदायको सेवा पहुँच र संस्थागत क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने प्रयास भएको उहाँले उल्लेख गर्नुभयो ।
त्यसैगरी, जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले टीभीएससँगको १५ वर्षदेखिको सहकार्य नेपाली बजारमा कम्पनीको विकास यात्राको महत्वपूर्ण आधार बनेको बताउनुभयो । बिक्रीपछिको सेवा, ग्राहक सहभागिता र स्थानीय समुदायसँगको सहकार्यले ग्राहकसँग दीर्घकालीन सम्बन्ध स्थापित गर्न सहयोग पुगेको उहाँको भनाइ थियो ।
उहाँले नेपालकै पहिलो टीभीएस प्रिमियम तथा ईभी शोरुम सञ्चालनले दुई कम्पनीबीचको साझेदारीमा अर्को उपलब्धि थपिएको उल्लेख गर्दै आगामी दिनमा नेपाली ग्राहकलाई थप गुणस्तरीय सेवा र सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नयाँ शोरुममा टीभीएसका प्रिमियम मोटरसाइकल तथा विद्युतीय सवारीसाधन उपलब्ध हुनेछन् । यहाँ टीभीएस अपाचे आरटीआर २०० ४भी यूएसडी प्रोजेक्टर, अपाचे आरटीआर १६० ४भी यूएसडी प्रोजेक्टर, टीभीएस रोनिन, टीभीएस रोनिन अगोन्डा, टीभीएस आईक्यूब र टीभीएस अर्बिटरलगायतका मोडल राखिने कम्पनीले जनाएको छ ।
यसका साथै प्रिमियम मोटरसाइकलका लागि आवश्यक आधिकारिक गियर, एसेसरिज तथा कस्टमाइज हेल्मेटसमेत शोरुममा उपलब्ध हुनेछन् । नयाँ शोरुमले ग्राहकलाई विभिन्न मोडलको छनोट, उत्पादनको अनुभव तथा ब्रान्डसँग सम्बन्धित सेवा एउटै स्थानबाट प्राप्त गर्न सहज बनाउने कम्पनीको विश्वास छ ।
विश्वका ९० भन्दा बढी देशमा उपस्थिति रहेको टीभीएस मोटर कम्पनी दुई तथा तीनपाङ्ग्रे सवारीसाधन उत्पादन क्षेत्रमा विश्वव्यापी रूपमा स्थापित कम्पनी हो । नेपालमा जगदम्बा मोटर्ससँगको १५ वर्ष लामो साझेदारीमार्फत कम्पनीले आफ्नो बजार विस्तार गर्दै आएको छ ।
कम्पनीले आगामी दिनमा बिक्री सञ्जाल विस्तार, ग्राहक सेवामा सुधार र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै नेपाली बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाउने जनाएको छ ।








तपाईंको विचार लेख्नुहोस्