मकवानपुर ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत मकवानपुरका चेपाङ समुदायका बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
बैंकले मकवानपुरको मनहरी गाउँपालिका–४, चिसापानीस्थित श्री चेपाङ प्राथमिक विद्यालयमा अध्ययनरत १३० जना विद्यार्थीलाई ट्र्याक सुट तथा विभिन्न शैक्षिक सामग्री प्रदान गरेको हो । बैंकको हेटौँडा शाखाको पहलमा उक्त सहयोग कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका वीरगञ्ज–चितवन सबक्लस्टर प्रमुख रूपक मैनाली, हेटौँडा शाखा प्रबन्धक बिनेश कार्कीलगायत बैंकका कर्मचारी तथा विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो ।
बैंकले उपलब्ध गराएको पोशाक तथा शैक्षिक सामग्रीले विद्यार्थीहरूको पठनपाठन र सिकाइ प्रक्रियामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । बैंकिङ सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै समुदायको आवश्यकता, शिक्षा र सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
बैंकले आम नागरिकको विश्वास र भरोसाका आधारमा हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीका उत्कृष्ट अभ्यासलाई अवलम्बन गर्दै आगामी दिनमा आफ्ना सेवा तथा सुविधालाई थप विस्तार गर्ने प्रतिबद्धतासमेत बैंकले व्यक्त गरेको छ ।








तपाईंको विचार लेख्नुहोस्