काठमाडौं।
नेपाल र भारतको सम्बन्धका विविध आयामबारे तीन दिवसीय विमर्श काठमाडौंमा सुरु भएको छ । दुई देशका विज्ञहरु सहभागी विमर्शको उद्घाटन शुक्रबार बुढानिलकण्ठस्थित होटल होलिडे इनमा सुरु भएको हो ।
उद्घाटनमा बोल्नुहुँदै प्रतिनिधिसभाकी सांसद तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति सुम्निमा उदासले प्रधानमन्त्री बालेन साहको भारत भ्रमणमा महत्वपूर्ण उपलब्धि हासिल हुने बताउनुभयो । नेपाल र भारतका प्रधानमन्त्रीहरुले साझा समस्या समाधानका लागि सार्थक संवाद गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल र भारतले सहकार्य गरेर समृद्धि हासिल गर्न सक्ने जलस्रोतलगायतका विषयमा महत्वपूर्ण छलफल गर्ने उहाँको भनाई थियो ।
उदासले नेपाल र भारतबीच भावनात्मक सम्बन्ध रहेको बताउनुभयो । कुनै प्रकारका सन्धी सम्झौताले भावनात्मक सम्बन्ध बनाएको नभई प्राचीन सभ्यताले खडा गरेको बताउनुभयो । रसुवा बाढीमा भारतको अविस्मरणय सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो । भविष्यमा बाढीबाट मानवीय र भौतिक क्षति हुन नदिन नेपाल र भारत मिले थप काम गर्नुपर्ने बताउनुभयो । दुई देशको सम्बन्धलाई आकार दिन विद्यार्थी, प्राज्ञ, नागरिकले उत्तिकै महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । रसुवा बाढीपछि भारतबाट आउने पर्यटक ८० प्रतिशतले घटेको भन्दै त्यसलाई पुन: वृद्धि गर्न धार्मिक पर्यटन वृद्धिका कार्यक्रमहरु संचालन गर्नुपर्ने बताउनुभयो ।
भारतको नीति आयोगकी सदस्य डा. जोराम आनियाले नेपालको समृद्धिमा भारतको समृद्धि निहित रहेको बताउनुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले साथ साथ विकासलाई प्राथमिकतामा राख्नुभएको उल्लेख गर्दै नेपालको विकासमा भारत सधै सहकार्य गर्न तयार रहेको बताउनुभयो । डा. अनियाले भन्नुभयो, भारत र नेपालको सम्बन्ध विगतको हिस्सा मात्र नभई भविष्यको तागत पनि हो । नेपालको समृद्धि र प्रगतिमा भारतको समृद्धि र प्रगति निहित छ ।
दुई देशबीच साझा समृद्धिको भावना निहित रहेको उल्लेख गर्दै नदी, पहाड र प्राकृतिक संशाधन सहयोगको पुल बनोस् भन्ने कामना गर्नुभयो । उहाँले भन्नुभयो, ‘असली विषय दुई देशको सम्झौता मात्र नभई त्यसले जीवनयापनमा के बदलाव आयो महत्वपूर्ण हो ।’ नेपालमा प्राकृतिक प्रकोपमा भारतले सक्दो साथसहयोग दिएको बताउँदै मुश्किलमा पनि साथ रहने सम्बन्धको गहिराई रहेको बताउनुभयो । दुवै देशका युवाको आकांक्षालाई पनि सम्बोधन गर्न जरुरी रहेको भन्दै खुला संवाद र आपसी समझदारीबाट यस्ता सम्भावनाको ढोका खुल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको सुन्दरताको वर्णन गर्नुहुँदै आफ्नै गाउँ घरमा आएको जस्तो महशुश गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्तो सुन्दर देशको छिमेकी हुँ भन्नेमा गर्व गर्छु । यो संवाद र विमर्शले भारत र नेपाल दुई सम्प्रभु देश साझा र सार्थक यात्रामा बढ्ने अवस्था विकास गर्नेछ ।’ देशको सीमाभन्दा पर सांस्कृतिक र भावनात्मक सम्बन्ध गहिरो रहने भन्दै नेपालको पहाडबाट अरुणाञ्चलमा चल्ने आभुषण ल्याउने प्रथा कायमै रहेको बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. देवेन्द्र गौचनले भारतसँगको साझेदारीबाट नेपालले लाभ लिन सकेको बताउनुभयो । उहाँले वृहत क्षेत्रमा सहकार्य भइरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री बालेन साहले गर्न लाग्नुभएको भारत भ्रमणले सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । रसुवा बाढीमा भारतले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।
भारतको केन्द्रीय संस्कृति विश्वविद्यालयका प्राध्यापक देवेन्द्र गोचन्द बर्खेरीले नेपाल र भारतको सम्बन्ध पुरातन मात्र नभई सनातन रहेको बताउनुभयो । उहाँले दुई देश छिमेकी नभई एउटै गर्भनालको रहेको बताउनुभयो । लुम्बिनीमा भगवान् बुद्ध जन्मिएर बोधगयामा प्रकट हुनुभएको बताउनुभयो । नेपाल भारतीयहरुको पवित्र तीर्थस्थल रहेको उल्लेख गर्दै भन्नुभयो, ‘यहाँबाट हामी सिक्छौं । प्रकृतिको स्वाद लिन्छौं ।’ नेपाल र भारत साथ साथ विकासमा बढ्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘नेपाल र भारत साथमा विकास हुन्छ । भारत नेपालको सामु ठूलोदाई हुँदैन, समानताका साथ रहन्छ । हामी नेपाललाई दिदैनौं मात्र लिन्छौं पनि र नेपालबाट सिक्छौं पनि ।’
नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक डा. दीपककुमार अधिकारीले नेपाल र भारत दुई गर्वनाल एक आपसमा जोडिएको बताउनुभयो । उहाँले नेपाल र भारतबीच रहनसहनमा समानता रहेको बताउँदै भन्नुभयो, ‘हामी एउटै सांस्कृतिक धारमा बगिरहेका छौं त्यसैले एक्लै हिंडेर गन्तव्यमा पुग्न सकिदैन ।’ नेपाल र भारतको सम्बन्ध सुदृढ गरी आधुनिक विकासमा अझ गति लिने हाम्रो साझा दायित्व रहेको बताउनुभयो । समस्याको सूची नबनाई समाधानको सूची बनाऔं भन्दै नेपाल भारत नीति संवाद समाधान केन्द्रित संवाद हुने बताउनुभयो ।
नीति अनुसन्धान प्रतिष्ठान नेपालका अध्यक्ष डा. प्रेमराज न्यौपानले नेपाल भारत नीति संवादमा सहभागीको स्वागत गर्नुभयो । उहाँले साझा सभ्यता र विशेष सम्बन्धलाई व्यवहारमा कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने मूल उद्देश्य रहेको बताउनुभयो । व्यवहारिक रुपमा आत्मसाथ गर्न सकेमा सहज तरिकाले बढ्न सकिन्छ । दुई देश एक आपसमा सहज भएपनि अझ लाभ लिन नसकेको यथार्थ रहेको बताउनुभयो ।
नेपाल भारत नीति संवादमा मंसिर ४ देखि ६ सम्म विभिन्न विषयमा दुई देशका विज्ञहरु बसेर विमर्श गर्नुहुनेछ ।








तपाईंको विचार लेख्नुहोस्