रामेछाप ।
रामेछाप प्रहरीले फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका तीन जना पक्राउ गरिएको रामेछापका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कमल राउतले जानकारी दिनु भयो।
रामेछाप प्रहरीले फरार प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा दाखिला गरेको जनाएको छ।प्रहरीका अनुसार पक्राउ पर्नेमा बैंकिङ कसुर मुद्दामा ६ दिन कैद र २ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय पाएका तारा बहादुर ग्यापक, ज्यान मार्ने उद्योग मुद्दामा ६ महिना कैद सजाय पाएका रोशन भण्डारी तथा दूषित खाद्य पदार्थसम्बन्धी मुद्दामा १५ हजार रुपैयाँ जरिवाना सजाय पाएका शिशिर राज गिरी रहेका छन्।
तारा बहादुर ग्यापकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुसँग समन्वय गरी भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। अन्य प्रतिवादीलाई समेत खोजतलासका क्रममा पक्राउ गरिएको राउतले जानकारी गराउनु भयो ।
पक्राउ परेका तीनै जनालाई तोकिएको कैद तथा जरिवाना कार्यान्वयनका लागि रामेछाप जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।








तपाईंको विचार लेख्नुहोस्