‘शब्दबिम्बमा सत्यमोहन’ पुस्तक सार्वजनिक



काठमाडौं ।

शताब्दीपुरुष सत्यमोहन जोशीबारेको ग्रन्थ ‘शब्दबिम्बमा सत्यमोहन’ सार्वजनिक गरिएको छ । सञ्चारकर्मी एवं साहित्यकार गोपीकृष्ण ढुंगानाले सम्पादन गरेको उक्त ग्रन्थको वरिष्ठ पत्रकार भैरव रिसालले शनिबार राजधानीमा विमोचन गरेका हुन् ।

रिसालले सत्यमोहनलाई घडाको संज्ञा दिँदै भने, ‘घडाबाट जति अमृत झिके पनि निस्किरहन्छ । उहाँबारे अझै थुप्रै कृति तयार पार्न सकिन्छ । उहाँका बारेमा भनि र लेखिसाध्य छैन ।’ गोरखापत्रका पूर्व प्रधान सम्पादक एवं साहित्यकार श्रीओम श्रेष्ठ रोदनले सत्यमोहनले १२ वटा अभिलेखमा कीर्ति राखेकाले उनका बारेमा यसरी पुस्तक तयार पार्नु ऐतिहासिक भएको बताए । उनले भने, ‘सबैको सत्यमोहन बन्ने अवसर पाउने व्यक्ति जीवित संग्रहालय पनि हुनुहुन्थ्यो ।’ सत्यमोहनका सुपुत्र अणुराजले बुबाका बारेमा ग्रन्थ तयार पारेर अध्ययन अनुसन्धान गर्नेका लागि गतिलो खुराक तयार भएको बताए ।

प्राध्यापक डा. ज्ञानू पाण्डेले सदाका लागि उज्यालो छोडेर जाने स्रष्टा सत्यमोहन भएको बताउँदै उनी सत्यमोहन सिंगो नेपाल र संस्कृति भएको बताइन् । उनले भनिन्, ‘देशका लागि केही गरुँ भन्ने र गर्ने व्यक्तित्वबारेको विविध आयाम समेटेको यस कृतिले चीरकालसम्म अर्थ राख्नेछ ।’ प्राध्यापक डा. लेखप्रसाद निरौलाले इतिहास, संस्कृति, साहित्य र मानवताका दृष्टिकोणले सत्यमोहन नेपाली समाजका शिखर पुरुष भएको बताए । उनले भने, ‘सञ्चारकर्मीले राजनीतिक विषय छोडेर यसरी देश र संस्कृतिका लागि लागिपर्ने व्यक्तित्वबारे ग्रन्थ तयार पार्नु आफैंमा ऐतिहासिक कार्य हो ।’

सम्पादक गोपीकृष्ण ढुंगानाले समयले सत्यमोहनलाई बनाएको र सत्यमोहनले समयलाई बनाएको आफ्नो अध्ययनको निष्कर्ष रहेको बताए । उनले भने, ‘सत्यमोहन शताब्दी लामो नेपालको प्रतिबिम्ब हुन् । उनले न अरूलाई तराजुमा जोखे न अरूको तराजुमा जोखिए । हरमिनेटलाई जीवनको अर्थसँग जोडेर आफूलाई सगरमाथाको उचाइ दिए ।’ भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको शब्दबिम्बमा सत्यमोहन कृति ४२० पृष्ठको छ । लेख, आलेख, सम्पादकीय, परिशिष्टांक, समाचार, तस्बिर, स्केच, अन्तर्वार्ता र कविता गरी दस खण्डमा पुस्तक विभाजित छ ।

प्रतिक्रिया दिनुहोस्