हुक्काः एन एब्सर्ड ड्रिम्समा कस्तो होला तेजको ट्वीस्ट ?



काठमाडौं ।

फिल्म ‘धौली’ र ‘प्रेमगन्ज’को अभिनयपछि अभिनेता तेज गिरी आगामी जेठ १२ गतेबाट रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम्स’बाट पुनः दर्शकमाझ आउँदैछन् । फिल्ममा उनी आफूलाई ‘ट्वीस्ट’ ल्याउने चरित्रका रुपमा देखिने दाबी गर्छन् ।

 ‘धौलीमा मेरो चरित्र माया लाग्दो थियो । आमाको संघर्षमा साथ दिइरहेको पात्रको भूमिका निभाएको थिएँ ’, तेज भन्छन्, ‘हुक्काः एन एब्सर्ड ड्रिममा चाहिँ फरक किसिमको चरित्र छ । म पूर्ण सकारात्मक र पूर्ण नकारात्मक भन्दा पनि अलिक मध्यम किसिमको चरित्रमा देखिएको छु । फिल्मको कथामा ‘ट्वीस्ट’ ल्याउने पात्रको भूमिका निभाएको छु ।’

 फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम्स’ फिल्म ‘धौली’को टिमले निर्माण गरेको हो । ‘धौली’मा अभिनय गरेपछि यो टिमसँग एक दशकदेखि नजिकिएका तेज ‘हुक्काः एन एब्सर्ड ड्रिम’मा जोडिएका हुन् । ‘फिल्मको स्क्रिप्ट इन्टरटेन किसिमको छ । पश्चिम क्षेत्रको माटो, हावापानीसँगै पोखरा आसपासको भाषालाई अत्यन्त सुन्दर ढंगले फिल्ममा प्रस्तुत गरिएको छ’, तेज खुल्छन् ।

 तेजको बुझाईमा ‘हुक्काः एन एब्सर्ड ड्रिम्स’ले हुक्काको परिभाषालाई फेरेको छ । ‘हामी हुक्का भन्नासाथ हुक्का तान्ने, धुँवा नै उडाउने भन्ने सोच्छौं । तर फिल्मले पुर्खाले प्रयोग गर्ने हुक्कालाई देखाउन खोजेको छ । हुक्काको परापूर्वकालमा छुट्टै महत्व थियो । फिल्मले हुक्का वा अन्य कुनै पनि वस्तुको लतले मान्छेले केकेसम्म गर्छ भन्ने कुरालाई देखाउन खोजेको छ’, उनी भन्छन्,‘हुक्कालाई सिम्बोलिक माध्यम बनाइएको छ । हुक्कालाई एक प्रतीष्ठासंग जोडिएको छ । त्यसमा प्रेम, धोका पनि हुनसक्छ । त्यो लतले मानिसलाई कहाँसम्म पु¥याउन सक्ने भन्ने कुरालाई उठान गरेको छ ।’ तेज फिल्मले महिला चरित्रलाई ‘हिरो’को रुपमा प्रस्तुत गरेको खुलाउँछन् ।

शम्भु थापाको निर्देशन रहेको फिल्ममा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ । रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् । फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्