न्युरोडको बीचमा गिट्टी बालुवा थुपारेपछि दुर्घटना जोखिम बढ्यो



मंगलबार राती महानगरपालिकाको कार्यालय नजिकै एउटा मोटरसाइकल दुर्घटना भयो । त्यो दुर्घटना भएको केही मिनेट बित्न नपाउँदै दोस्रो दुर्घटना भयो । पछिल्ला दुई हप्तायता पोखरा महानगरपालिकाको कार्यालय नजिकै दुर्घटना बढ्न थालेको छ ।

दैनिक जसो सभागृह चोक देखी चिप्ले ढुङ्गा तर्फ आउँदै गर्दा दुर्घटना बढ्न थालेको हो । सडकको बीचमा डिभाइडर निर्माण गर्ने क्रममा बीचभागमा नै गिटी बालुवा राखेकै कारण दुर्घटना जोखिम बढ्न थालेको हो ।

विशेष गरी रातको समयमा बढी दुर्घटना हुन थालेको छ । मंगलबार राती १० बजेर ३० मिनेटको समयमा अर्वाद आलम सोही बालुवाको कारण दुर्घटनामा परे । उनलाई सामान्य चोटपटक लागे पनि उनको सवारीलाई भने ठूलो क्षति पुगेको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।  प्रदेश नं. २–०३–०१८ प १०४० नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

उनको मात्रै नभई त्यहाँ दैनिक दुई चार वटा सवारी दुर्घटनामा परेको व्यवसायी सुमित श्रेष्ठ बताउँछन् । उनका अनुसार सडकको बीचभागमा गिटी बालुवा राखेकै कारण दुर्घटना बढ्न थालेको छ । ‘आजकल त यही हेरेर बस्ने मात्रै भएको छ । को कति बेला लड्छ र उठाउन जाम्ला भनेर बसेजस्तो भएको छ । दिनदिनै दुर्घटना भइरहेको छ’ उनले भने,‘दिउँसो भन्दा साँझ र राती बढी दुर्घटना भएको छ । अस्ति एकै समयमा दुई वटा बाइक पल्टियो । एक दिन त बुलेट बाइक लछारिँदै  (करिब १० मिटर पर) पुगेको थियो ।’ दुर्घटना हुनुको पछाडि महानगर र ट्राफिक प्रहरीको लापरबाही रहेको उनको भनाइ छ ।

सडकको बीचमा त्यसरी बालुवा र गिटी राख्दा समेत हटाउन नसक्नु महानगरको कमजोरी रहेको उनी बताउँछन् । ‘यसमा ट्राफिक र महानगरको लापरबाही देख्छु म । हामीले गुनासो गर्दा समेत सुनेन । बीचमा यसरी राखेर काम गर्दा समेत कुनै वास्ता छैन’ उनले भने ।

उता जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव प्रसाद पाठकले पटक पटक आग्रह गर्दा समेत कुनै कारबाही नभएको बताए । उनले आफूहरूले महानगरपालिका र निर्माण कम्पनीलाई सडकको बीचको गिटी बालुवा हटाउन भनि आग्रह गर्दा समेत नहटाएको बताए । उनले गिटी बालुवा मात्रै नभई सभागृह देखी महानगरपालिकासम्म आउने र जाने सडकमा काम सकिएपछि समेत मालसामान लथालिङ्ग छाड्दा दुर्घटना जोखिम बढाएको बताए । ‘सडक क्लियर नगर्दा समस्या छ । दैनिक जसो दुर्घटना जोखिम बढेको छ । हामीले पटक पटक ताकेता गरिरहेका छौं ’ उनले भने, ‘यहाँ दुर्घटना हुँदा जिम्मा कसले लिने ? हामीले भनेर मात्रै भएको छैन । हुन्छ हुन्छ भन्नुहुन्छ तर काम चाहिँ गर्नुहुन्न ।’

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने बीचमा गिटी बालुवा थुपारेको थाहा नभएको प्रतिक्रिया दिए । ‘गर्न खोजेको त व्युटिफिकेसन हो । बीचमा लाइटिङ छ र त्यो निर्माण गरेको भएर डिभाइडर बनाउने काम भइरहेको छ । त्यो हाम्रो चासो र चिन्ताको विषय हो ।तर काट्न ढिला भएको हुनाले समस्या भएको हो तर उहाँहरूको समय छ त्यति बेलासम्म सक्नुहुन्छ ’ उनले भने,‘निर्माण सामग्री नै त राखेको नहुन पर्ने हो । त्यही खनेर निस्किएको मात्र राखेको हो ।’ त्यसपछि उनलाई प्रश्न गर्दा दुई दिनमा हटाउँछु भनेर प्रतिबद्धता गरेको बताए । उनले दुई दिन भित्र नहटाएमा नगर प्रहरी लगेर हटाउने बताए । तर दुई सम्म त्यहाँ अन्य दुर्घटनाको जोखिम भने देखिएको छ ।

निर्माण सामग्रीलाई सडक पेटी नजिक रहेको ठूलो ठाउँमा राख्न सकिने भएपनि राखिएको छैन । त्यही नजिकै महानगरले पार्किङका लागि खुल्ला ठाउँसमेत बनाएको छ । एवि कन्ट्रक्सनका प्रतिनिधि सनम बानियाँले धेरै खर्च हुनेभएकोले सडकको बीचमा राखेर काम गरेको प्रतिक्रिया दिए । ‘छेउमा निर्माण सामग्री राख्दा पटक पटक बाटो काट्दा कामदार असुरक्षित भए । सवारी जामको समेत समस्या हुनेभएपछि बीचमा राखेर काम गरेका हौं । सजिलोका लागि काम गरेका हौं’ उनले भने, ‘ बारम्बार क्रसर कम्पनीबाट निर्माण सामग्री समयमा आउँदैन । हामीलाई प्राप्त भएको समयमा निर्माण सामग्री स्टक गरेका हौं । निर्माण स्थलमै राखिएको हो । प्रविधि, आर्थिक र व्यवहारिक हिसाबले समस्या भएका कारण यस्तो भएको हो ।’

उनीहरुको सजिलोका लागि नागरिकले दैनिक सास्ती खेप्न बाध्य भएका छन् । डिभाइडर निर्माणका लागी कम्पनी र महानगरबीच मंसिर मसान्तमा सम्झौता भएको थियो । पाँच महिनामा सक्ने गरी ९९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस्