आर्थिक वर्षको हतारमा दैनिक खर्च २१ करोड बढी



 हेटौंडा  ।

आर्थिक वर्ष सकिनै लाग्दा हतारमा रहेको वागमती प्रदेश सरकारले पछिल्लो १९ दिनमा दैनिक खर्च २१ करोडभन्दा बढी पु-याएको छ ।
चालु आर्थिक वर्षको अन्तिम महिनामा सरकारले दैनिक खर्चलाई २१ करोडभन्दा बढी पु-याएको पाइएको हो ।

गत आर्थिक वर्षमा पनि सरकारले असारमा १२ अर्ब बजेट खर्च गरेको थियो । देशका ७ प्रदेशमध्ये सबभन्दा धेरै बजेट घोषणा गर्दै आएको प्रदेश सरकार बजेट खर्चमा भने सधैं कमजोर रहँदै आएको छ ।सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि बजेटको आकार १३ अर्बले बढाउँदै सबभन्दा ठूलो बजेट ल्याएको हुँदा आगामी आवमा पनि सोही क्रमले निरन्तरता पाउने प्रायः निश्चित नै देखिन्छ ।

प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम असारका १९ दिन करिब ४ अर्ब बजेट खर्च गरेको छ । २४ अर्ब खर्चिन ११ महिना लगाएको प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम महिनाको १९ दिनमा ३ अर्ब ९९ करोड ८७ लाख बजेट खर्च गरेको छ । यसअघि ११ महिनासम्म सरकारको दैनिक खर्च ७ करोड ४२ लाख ११ हजार ५ सयको हाराहारीमा हुने गरेको थियो । तर, आर्थिक वर्ष सकिनै लाग्दा सरकारले दैनिक खर्चलाई १३ करोड ६२ लाखले बढाएको छ ।

आर्थिक वर्षको अन्त्यसम्म ६० प्रतिशत बजेट खर्च गर्नुपर्ने हुन्छ । तर, प्रदेश सरकारले चालु आर्थिक वर्षको कुल बजेटमध्ये ५० प्रतिशत पनि खर्च गर्न सकेको छैन । केही दिनमात्र बाँकी रहँदा वार्षिक बजेटको ५१.७६ प्रतिशत बजेट खर्च गर्न बाँकी छ ।आइतबारसम्मको तथ्यांकअनुसार हालसम्म कुल बजेटको ४९.२४ प्रतिशतमात्र बजेट खर्च भएको लेखा तथा कोष नियन्त्रक कार्यालय वागमती प्रदेशका सूचना अधिकारी होमनाथ रिजालले जानकारी दिनुभयो ।

प्रदेश सरकारलाई अबका ९ दिनमा ३१ अर्बभन्दा बढी बजेट खर्च गर्नुपर्ने चुनौती छ । प्रदेश सरकारले आगामी असार मसान्तसम्म ३३ अर्ब २३ करोड ११ लाख खर्च गर्नुपर्ने हुन्छ । चालु आर्थिक वर्षमा करिब ७० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएको प्रदेश सरकारले बजेट खर्चको लक्ष्य पूरा गर्न अब ९ दिनमा कम्तीमा २१ प्रतिशत बजेट खर्च गर्नुपर्ने हुन्छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ७१ करोड ७३ लाख २४ हजार विनियोजित रकममा हालसम्म चालुतर्फ १८ करोड १२ लाख ७४ हजार बजेट खर्च भएको छ भने पुँजीगततर्फ ३२ करोड ७१ लाख ४९ हजारमात्र बजेट खर्च भएको हो ।प्रदेशका मन्त्रालयमध्ये आर्थिक मामिला तथा योजना मन्त्रालयले बढी खर्च गरेको छ । उक्त मन्त्रालयको कुल बजेटको ७२ प्रतिशत खर्च गरेको छ । मन्त्रालयले ३५ करोड ६४ लाख १८ हजार बजेट रहेकोमा चालुतर्फ २५ करोड ५८ लाख ७३ हजार खर्च गर्न सफल भएको छ भने पुँजीगततर्फ ३४ लाख ९५ हजार खर्च गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ८६ करोड ४६ लाख ४५ हजार बजेट पाएकोमा हालसम्म अवधिमा चालुतर्फ १८ करोड ८९ लाख खर्च गर्दा पुँजीगततर्फ १७ करोड ८६ लाख बजेट खर्च गरेको छ । ७० करोड २९ लाख ७७ हजार बजेट रहेको उक्त मन्त्रालयले हालसम्म कुल बजेटको ४९ प्रतिशत खर्च गरेको हो ।२३ अर्ब ७६ करोड ४९ लाख ३२ हजार बजेट रहेको भौतिक मन्त्रालयले हालसम्म चालुतर्फ ७४ करोड ४४ लाख बजेट खर्च गरेको छ भने पुँजीगततर्पm ९ अर्ब ८५ करोड ५२ लाख खर्च गरेको छ । ९ अर्ब ९७ करोड ५५ लाख ८४ हजार बजेट रहेको सामाजिक विकास मन्त्रालयले चालुतर्फ ३ अर्ब ३६ करोड ४ लाख खर्च गर्दा पुँजीगततर्फ १ अर्ब १३ करोड ८५ लाख खर्च गरेको छ ।

४ अर्ब ३१ करोड ३८ लाख १ हजार बजेट पाएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले हालसम्म अवधिमा चालुतर्फ ८३ करोड ९२ लाख ७८ हजार खर्च गरेको छ भने पुँजीगततर्फ १ अर्ब ११ करोड ७९ लाख बजेट खर्च गरेको लेखा तथा कोष नियन्त्रक कार्यालय वागमती प्रदेशका सूचना अधिकारी रिजालले जानकारी दिनुभयो ।भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ३ अर्ब ७६ करोड ४९ लाख ३२ हजारमध्ये हालसम्म अवधिमा चालुतर्फ १ अर्ब १ करोड २३ लाख तथा पुँजीगततर्फ ५१ करोड ९१ लाख खर्च गरेको सूचना अधिकारी रिजालले बताउनुभयो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको कुल बजेटमध्ये चालु खर्चतर्फ ६१ दशमलव १२ प्रतिशत, पुँजीगततर्फ ४० दशमलव १ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालु खर्चतर्फ २६ अर्ब १६ करोड ६६ लाख, पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख र वित्तीयतर्फ २ अर्ब विनियोजन गरेको थियो ।

असारका १९ दिन अर्थात् सोमबारसम्म सरकारको कुल बजेट खर्च २८ अर्ब ४८ करोड ८५ लाख पुगेको छ । जसमा चालुतर्फ १४ अर्ब १ करोड ६४ लाख खर्च भएको छ । यो चालु कुल बजेटको ६१ प्रतिशत खर्च हो । पुँजीगततर्फ सरकारले हालसम्म १३ अर्ब १७ करोड २१ लाख खर्च गर्न सकेको छ । यो ४० प्रतिशत खर्च हो । बजेट खर्च ६५ प्रतिशत पु-याइएको सरकारी दाबी हुँदा बाँकी ९ दिनमा सरकारको बजेट खर्च अझै बढ्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्