राराका गाइडले पाएनन् काम



मुगु ।

कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल रारा आउने बाह्य तथा आन्तरिक पर्यटकको सहजका लागि तयार पारिएको नेचर गाइडले पछिल्लो समय काम नपाएर अलपत्र अवस्थामा छन् । रारा राष्ट्रिय निकुञ्जले राराको जैविक विविधता, वन्यजन्तु, चराचुरुङ्गी र पदमार्गलाई लक्षित गरी दुई वर्ष पहिले रारा आतिथ्य सत्कारका लागि नेचर गाइड सञ्चालनमा ल्याएको थियो ।

तर, पछिल्लो समय मध्यवर्ती क्षेत्र समिति र वार्डेनले नेचर गाइडका लागि कुनै पनि योजना तयार नपारेकाले अहिले सो कार्यक्रम अलपत्र अवस्थामा परेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका रेन्जर पदम बुढाले बताउनुभयो । रारामा नेचर गाइडका लागि ३३ जनालाई १५ दिनसम्म क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको थियो ।

रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज बनाउन गत वर्ष १–६ फागुनसम्म नेचर गाइड तालिमको आयोजना गरी रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई रारा पुग्ने पदमार्ग वन्यजन्तु, चराचुरुङ्गीदेखि राराको जैविक विविधताबारे जानकारी गराउन नेचर गाइड तयार गरिएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन–२०२९ हिमाली राष्ट्रिय निकुञ्ज नियमावली–२०३६ अनुसार प्रत्येक निकुञ्जले अनिवार्य नेचर गाइड राख्नुपर्ने व्यवस्था भए पनि रारा राष्ट्रिय निकुञ्जले नेचर गाइड तयार गरेको थिएन ।

सोही नियमावलीलाई आत्मसाथ गर्दै निकुञ्जले नेचर गाइड तयार गरे पनि हाल अलपत्र अवस्थामा परेको बुढाले बताउनुहुन्छ । पूर्ववार्डेन लालबहादुर भण्डारीको कार्यकालमा उक्त कार्यक्रमको थालनी गरिएको थियो । भण्डारी सरुवा भई जाँदा कुनै पनि सुरसार भएको छैन ।

मध्यवर्ती क्षेत्रभित्रका समुदायको आर्थिक उन्नति रारा आउने आन्तिरिक तथा बाह्य पर्यटकलाई राराबारे सहजै जानकारी गराउनुका साथै निकुञ्जभित्र रहेका जैविक विविधता, वन्यजन्तु, वनस्पति, चराचुरङ्गी धार्मिक तथा सांस्कृतिक परम्पराकाबारे सहजै रूपमा पर्यटक जानकारी गराउने उद्देश्य र रोजगारको सिर्जना हुनुका साथै नेपाल भ्रमण वर्ष–२०२० लाई टेवा पु¥याउने उद्देश्यले नेचर गाइड उत्पादन गरिएको थियो । रारामा नेचर गाइड तयार पारेपछिको अवस्थाबारे निकुञ्जका वार्डेन बद्रीविनोद दाहालसँग बुझ्दा यसबारेमा आफूलाई त्यति जानकारी नभएको बताउनुभयो ।

रारामा मात्र २ सय ७२ प्रजातिका चराचुरुङ्गी छन् । विश्वमा नपाइने असला जातको माछा, विभिन्न प्रकारका वनस्पतिका साथै यहाँको छुट्टैखाले जैविक विविधता छ । यहाँ पुग्ने जो–कोही पर्यटकले सबै जानकारी लिन खोज्छन् । योभन्दा अगाडि यी सबै विषयमा ज्ञान भएका जनशक्ति नहुँदा जानकारीबिना पर्यटक फर्किन्थे । अब राराबारे ज्ञान भएका नेचर गाइड उत्पादन भएपछि पर्यटकले सबै जानकारी पाउने छन् ।

छायाँनाथ रारा नगरापालिका–८ झयारी गाउँका दानबहादुर रावल नेचर गाइडको तालिम पाएपछि अबका दिनबाट व्यावसायिक रूपमा नेचर गाइडको पेसालाई अगाडि बढाउने बताउँछन् । २ वर्षसम्म कोराना कहरले थला परेको पर्यटन व्यवसाय कोरोना प्रभाव कम भएसँगै पर्यटकको चहलपहल बढेसँगै राराका नेचर गाइडले समेत रोजगार पाउने निकुञ्जका कर्मचारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्