पाडी बाच्छी हुर्काउन अनुदान



तनहुँ ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले पाडी बाच्छी हुर्काउन प्रोत्साहनस्वरूप अनुदान कार्यक्रम सञ्चालन गरेको छ । पाडी बाच्छी जिल्लामा नै उत्पादन नहुँदा अन्यत्रबाट ल्याउनुपर्ने समस्या समाधानका लागि पाडी बाच्छी हुर्काउन प्रोत्साहन अनुदान प्रदान गरिएको हो ।

उच्च नस्लका पाडी बाच्छी उत्पादन र भविष्यमा माउ तयार गर्नका लागि प्रोत्साहन अनुदानको कार्यक्रम सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँका प्रमुख डा.बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च नस्लको गाई भैंसीलाई कृत्रिम गर्भाधानबाट जन्मिएका पाडी बाच्छीलाई मात्रै प्रोत्साहन अनुदान प्रदान गरिनेछ ।

‘कृत्रिम गर्भाधानबाट नभई प्राकृतिक रूपमा जन्मिएका पाडी बाच्छीलाई भने अनुदान प्रदान गरिने छैन’ –उहाँले भन्नुभयो । चालु आर्थिक वर्षमा १ सय पाडी बाच्छी हुर्काउन प्रोत्साहन अनुदान दिने गरी बजेट निकासा भएको डा.श्रेष्ठले जानकारी दिनुभयो । उहाँले १–२ वर्ष पूरा भएका पाडी बाच्छीका लागि मात्रै अनुदान प्रदान गरिँदै आएको बताउनुभयो ।

पाडी बाच्छी हुर्काउँदा खर्च बढी लाग्ने र किसानले पाडी बाच्छी हुर्काउन नचाहने भएकाले अनुदान प्रदान गरी हुर्काउन प्रोत्साहन गरिएको उहाँले बताउनुभयो । ‘यहाँ गाईभैंसी उत्पादनको स्रोत केन्द्र छैन, उच्च नस्लका गाईभैंसी अन्य जिल्ला तथा राष्ट्रबाट ल्याउनुपर्ने बाध्यता छ, त्यसैले यहीं उत्पादनका लागि तयारीस्वरूप यो कार्यक्रम थालिएको हो,’ डा.श्रेष्ठले भन्नुभयो ।

प्रति पाडी बाच्छी हुर्काउन १० हजार रुपियाँ प्रोत्साहन अनुदान प्रदान गरिने उहाँले बताउनुभयो । ‘कृत्रिम गर्भाधानबाट जन्मिएका पाडी बाच्छी हुर्काउनका लागि मात्रै अनुदानको प्रदान गरिन्छ, किसानले ५ वटासम्म पाडी बाच्छीलाई अनुदान लिनसक्ने व्यवस्था छ, कृत्रिम गर्भाधान गरिएको कार्ड विज्ञ केन्द्रले नै उपलब्ध गराएको हुन्छ । सोहीअनुरूप कृषकलाई अनुदान उपलब्ध गराउछौं’ – उहाँले भन्नुभयो । प्रति कृषकले ५० हजार रुपियाँसम्म अनुदान दाबी गर्न सक्नेछन् ।

गत वर्ष १८१ किसानलाई पाडी बाच्छी हुर्काएपछि अनुदान रकम प्रदान गरिएको श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार १८१ किसानहरूले ३०८ पाडी बाच्छी उत्पादन गरेका छन् भने चालु वर्ष बजेट कटौती भएकाले १ सय पाडी बाच्छीका लागि मात्रै अनुदान प्रदान गरिनेछ ।

अनुदानको लागि गतवर्ष ४० लाख रुपियाँ बजेट विनियोजन भएकोमा यसवर्ष कटौती गरी प्रदेश सरकारले १० लाख रुपियाँ मात्रै विनियोजन गरेको छ । बजेट कटौती भएपछि थोरै किसानलाई अनुदान प्रदान गरिनेछ । पाडी बाच्छी उत्पादनलाई प्रोत्साहन गर्दा जिल्लामा नै स्रोत केन्द्र स्थापना गर्न सक्ने भएकाले अनुदान कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ ।

यसवर्ष व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, भानु नगरपालिकामा उच्च नस्लका पाडी बाच्छी उत्पादनका लागि कृत्रिम गर्भाधान गराइएको डा.श्रेष्ठले बताउनुभयो । अन्यत्रबाट उच्च नस्लका माउ गाईभैंसी ल्याउदा महंगो पर्ने र ढुवानी खर्च समेत बढी पर्नेछ । तसर्थ यही उत्पादन गर्न सकेमा उच्च नस्लका दुधालु गाईभैंसी आयात गर्नुभन्दा निर्यात गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्