परीक्षामा फेल भएर बेपत्ता भएका चिनियाँको १६ वर्षपछि परिवारसँग भेट



बेइजिंग, (एजेन्सी) ।

कलेजको स्नातक परीक्षामा अनुतीर्ण भएपछि बेपत्ता भएका एक चिनियाँ पुरुषको १६ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएको छ । परीक्षामा असफल भएपछि लाजले परिवारलाई मुख देखाउन नसकेर बेपत्ता भएका वाँग नामक ती ३९ वर्षीय व्यक्तिको १६ नोभेम्बरमा चीनको सिसयान शहरमा परिवारसँग पुन भेट भएको चीनको उत्तरी सान्सी प्रान्तको स्थानीय सञ्चार माध्यम सियासी न्युजले जनाएको छ ।

चीनको ट्विटरको अर्को संस्करण वेइवोमा पोस्ट गरिएको भिडियोमा वाँगले घुँडा टेकेर रुँदै आफ्नी आमासँग माफी माग्दै गरेको देखिन्छ । उनकी आमाले उनलाई सन् २००५ पछि पहिलोपटक देखेकी हुन् । सन् २००१ सम्म वाँग होनहार विद्यार्थी थिए । तर, अचानक भिडियो गेम्सको कुलतको कारण कलेजको परीक्षामा अनुत्तीर्ण भएपछि उनी लाजले भागेर आफ्नो घरभन्दा १० घन्टा टाढाको सान्डोङ प्रान्तमा गुमनाम जीवन बाँच्न पुगेका थिए ।

वाँगले अध्ययन गर्ने चाँगान विश्वविद्यालय चीनकै १ सय वटा अत्यन्तै प्रतिष्ठित विश्वविद्यालयमध्ये एक हो ।उनी त्यहाँ स्थानीय सरकारलाई आधिकारिक कागजात पेस गर्नुनपर्ने गरी विभिन्न किसिमका पेशा गरेर बसेका थिए ।तर, अन्ततः स्थानीय सियान सरकारी कार्यालयमा आफ्नो परिचय पत्र नवीकरण गर्ने क्रममा उनी परिवारको सम्पर्कमा आएका थिए । वाँग हराएको व्यक्तिको सूचीमा रहेकाले सरकारी अधिकारीहरूले उनको परिवारलाई उनकोबारे तत्कालै सूचना प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्