पर्यटन प्रवद्र्धनका लागि पदमार्ग निर्माण


स्याङ्जा । स्याङ्जाको पर्यटकीय गन्तव्यको प्रवद्र्धनस्वरुप झन्डै चार किलोमिटर पदमार्ग निर्माण गरिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा झन्डै १७ वटा योजनामार्फत पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा टेबा पुर्‍याउने उद्देश्यले ३ किलोमिटर ६ सय मिटर पदमार्ग निर्माण गरिएको हो । पर्यटकीय गन्तव्यमा पुग्ने आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै गएको वर्ष एक करोडको लागतमा कंक्रिट ढलान, कटिङ छपनी ढुङ्गा, सुक्का छपनी र स्थानीय ढुङ्गाको प्रयोगबाट पदमार्ग निर्माण भएको छ । ऐतिहासिक, पुरातात्विक, धार्मिक महत्वका स्थल र जिल्लाका प्रमुख पर्यटकीय केन्द्रमा पहुँचमार्ग पुर्‍याउन पदमार्ग निर्माण गरिएको एकीकृत सेवा कार्यालयले जनाएको छ ।

चार किलोमिटर दूरीको पदमार्ग निर्माण गरिएको सेवा कार्यालयका प्रमुख जीवन पौडेलले बताउनुभयो । जिल्लाका दर्जनौं पर्यटकीय गन्तव्यमध्ये डेढ दर्जन केन्द्रमा यस्ता पदमार्ग निर्माण भएका छन् । पदमार्ग निर्माणसँगै पर्यटकीय केन्द्रमा आउजाउ गर्ने पर्यटकलाई सहज भएकोले पर्यटक आगमनमा बढोत्तरी भएको कार्यालय प्रमुख पौडेलको भनाइ छ ।

जिल्लाका प्रमुख पर्यटकीय गन्तव्य पञ्चमूलको सिरुबारी, पुतलीबजारको चण्डीस्थान, भालुपहाड, वालिङको गह्रौसुर, बाहुनथान, भीरकोटको स्वरेक, गडहरेगुफा, चापाकोटको रामडाँडा, मनकामना मन्दिर, कालीगण्डकी आसपासका स्थलमा पदमार्ग, पार्क र पूर्वाधार निर्माण गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पदमार्ग, पार्क र पूर्वाधार निर्माणसँगै स्तरोन्नतिपछि पर्यटकीय गन्तव्यमा पर्यटकको आकर्षण बढ्दै गएको छ ।

सेवा कार्यालयअन्र्तगत पर्यटन तथा उद्योग शाखामार्फत होमस्टे पूर्वाधार निर्माणमा एक, पर्यटकीय पूर्वाधार तथा पार्क निर्माणमा १६, पदमार्ग निर्माणमा १७ र मठमन्दिर, मस्जिद, गुम्बा ममर्त तथा स्तरोन्नतिमा ६० गरी ९३ योजना निर्माण भएका छन् । त्यस्तै सामाजिक विकास शाखातर्फ खेलमैदान निर्माणका १७, मन्दिर निर्माण तथा मर्मतका २६ र विद्यालय–सामुदायिक भवन निर्माण तथा स्तरोन्नतिका ७६ गरी १ सय १९ योजना निर्माण भएको कार्यालयले जनाएको छ । गएकै वर्ष कार्यालयले चालू र पुँजीगत गरी १६ करोड ४७ लाख १३ हजार रुपैयाँमध्ये ११ करोड ९४ लाख ४७ हजार रुपैयाँ खर्च गर्दै झन्डै ७३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

सामाजिक विकासतर्फ ८ करोड ९१ लाख २३ हजार रुपैयाँमध्ये ६ करोड ६४ लाख ९१ हजार रुपैयाँ खर्च गरेको कार्यालयले पर्यटन तथा उद्योगतर्फको ७ करोड ५५ लाख ९० हजार रुपैयाँमा ५ करोड २९ लाख ५६ हजार खर्च गर्दै समग्रमा झन्डै ७३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको कार्यालयका लेखाप्रमुख विनोद शर्मा मरासिनीले जानकारी दिनुभयो ।

त्यस्तै कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा करिब ८८ प्रतिशत भौतिक प्रगति हासिल भएको जनाएको छ । कुल २ सय ४१ योजनामध्ये २ सय १२ वटा योजना निर्माण गर्दै ८८ प्रतिशत भौतिक प्रगति गरेको हो । सामाजिक विकासका १ सय ३६ योजनामध्ये १ सय १९ योजना कार्यान्वयन गरेको कार्यालयले पर्यटनतर्फका १ सय ५ योजनामध्ये ९३ योजना कार्यान्वयन गरी ८८ प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाएको छ ।

कार्यालयका अनुसार गतवर्ष पर्यटनतर्फका १२ र सामाजिक विकासका १७ गरी २९ वटा योजना कार्यान्वयन हुन सकेनन् । योजना परेका स्थानमा जग्गा विवाद, अनावश्यक योजना छनोट र ठेगाना एकिन नभएका योजना कार्यान्वयनमा लैजान नसकिएको कार्यालयले जनाएको छ । योजना कार्यान्वयनमा लैजान नसक्दा झन्डै ४ करोड ५२ लाख ६५ हजार खर्च नभएको कार्यालयका पर्यटन तथा उद्योग शाखाका प्रमुख कृष्ण लम्सालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।