युनेस्को कार्यकारी बोर्डमा भारत पुनः निर्वाचित



इन्डिया न्युज नेटवर्क । 

भारत सन् २०२१ देखि २०२५ सम्मको कार्यकालका लागि युनेस्को कार्यकारी बोर्डमा पुनः निर्वाचित भएको छ । युनेस्को संयुक्त राष्ट्र संघको तीन संवैधानिक निकायहरूमध्ये एक हो । यसबारे जानकारी दिँदै, पेरिसमा युनेस्कोका भारतीय स्थायी प्रतिनिधिमण्डलले ट्विटमा भनेका छन् – ‘भारत २०२१–२५ अवधिका लागि १ सय ६४ मत प्राप्त गरेर युनेस्कोको कार्यकारी बोर्डमा पुनः निर्वाचित भएको छ ।’

यसैबीच विदेश मन्त्री एस जयशंकरले पनि ट्विटरमा विदेश मन्त्रालयका कर्मचारी र युनेस्कोका भारतीय स्थायी प्रतिनिधिमण्डलको ‘राम्रो काम’ को प्रशंसा गरेका छन् ।अर्कोतर्फ भारतको निर्वाचनमा प्रतिक्रिया दिँदै संस्कृति तथा विदेश राज्यमन्त्री मीनाक्षी लेखीले भारतको उम्मेदवारीलाई समर्थन गरेकोमा सदस्य राष्ट्रलाई धन्यवाद दिएकी छिन् ।

उनले ट्विटरमा लेखेकी छिन् – ‘भारतले युनेस्कोको कार्यकारी बोर्डमा स्थान बनाएको जानकारी दिन पाउँदा खुशी लागेको छ । हाम्रो उम्मेदवारीलाई समर्थन गर्ने सबै सदस्य देशहरूलाई हार्दिक बधाई र धन्यवाद ।’युनेस्को कार्यकारी बोर्ड संयुक्त राष्ट्र संघको तीन संवैधानिक अंगहरूमध्ये एक हो (अन्य सामान्य सम्मेलन र सचिवालय हुन्) र यसलाई सामान्य सम्मेलनद्वारा चुनिन्छ । युनेस्को कार्यकारी बोर्डमा ५८ सदस्य–राष्ट्रहरू छन् जसमा प्रत्येकका लागि चार वर्षको कार्यकाल हुन्छ । युनेस्कोमा १ सय ९३ सदस्य राष्ट्र सम्मिलित छन् ।

प्रतिक्रिया दिनुहोस्