कोरोनासम्बन्धी नयाँ नियमविरुद्ध युरोपमा विरोध प्रदर्शन



रोत्तरड्याम, (एजेन्सी) । 

युरोपमा कोभिड–१९ संक्रमणको घटना बढिरहेका कारण नयाँ लकडाउनका नियमहरू लागु गरिएको विरोधमा नेडरल्यान्डमा पछिल्लो दंगा शुरू भएको छ । हेगमा प्रदर्शनकारीहरूले प्रहरीमाथि पटाका प्रहार बाइसाइकलहरूमा आगजनी गरेका छन् । पछिल्लो राती रोत्तरड्याममा प्रदर्शन हिंसात्मक हुँदै गरेपछि प्रहरीले परिस्थिति सम्हाल्न गोली प्रहारसमेत गरेका थिए ।

कोरोना भाइरस नियन्त्रणका लागि लागु गरिएका नयाँ नीति नियमहरू विरुद्ध इटाली, अस्ट्रिया र क्रोसियाका सडकमा पनि हजारौं आक्रोशित व्यक्तिले प्रदर्शन गरेका छन् । यता विश्व स्वास्थ्य संगठन ( डब्ल्यूएचओ ) ले युरोपमा कोरोना भाइरसका घटना बढ्दै गइरहेकोमा गहिरो चिन्ता व्यक्त गरेको छ । डब्ल्युएचओका क्षेत्रीय निर्देशक डा. ह्यान्स क्लुजले यदि युरोपभरि कडा सुरक्षाका नीतिहरू समयमै नअपनाइएको खण्डमा केही महिनाभित्रै पचास लाखभन्दा बढी व्यक्तिले ज्यान गुमाउनुपर्ने बीबीसीलाई बताएका छन् ।

उनले यसका लागि खोप र मास्क लगाउनु सबैभन्दा महत्वपूर्ण उपाय भएको पनि जोड दिएका छन् । नेडरल्यान्डमा दोस्रो दिन अर्थात् शनिबार पनि थुप्रै विभिन्न शहरमा सरकारी नीतिविरुद्ध दंगा शुरू भएका छन् । सरकारी अधिकारीहरूले केही शहरमा आपतकालीन स्थिति घोषणा गर्नुका साथै सातजना प्रदर्शनकारीलाई गिरफ्तार गरिएको सञ्चार माध्यमले जनाएको छ । हेगमा त बिरामी बोकेको एम्बुलेन्समा समेत ढुंगामुढा भएको बताइएको छ ।चीनको हुवेइ प्रान्तको उहान शहरबाट पहिलोपटक कोरोना भाइरस फैलिएको थियो । कोरोना संक्रमणका कारणमा विश्वका लाखौं मानिसले अकालमै ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्