घरधुरी सङ्लन गर्न सुपरीवेक्षक गाउँ गाउँमा



विमल विष्ट, डोटी ।

राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणको गणनाका लागि सुपरीवेक्षक टोली डोटीका नौवटै स्थानीय तहका गाउँगाउँमा पुगेका छन्।

जिल्ला जनगणना कार्यालय डोटीले सुपरिवेक्षकलाई तालिम दिएर असोज १८ गतेसम्मका लागि प्रत्येक घरपरिवारको सूचीकरण लिइसक्ने गरी टोली स्थानीयवासीका घरदैलोमा खटाएको हो ।

सुपरिवेक्षकले घरपरिवारहरु घरमा बसोबास भएको छ वा छैन, घर प्रयोगको किसिम, घर कति पुरानो, घरमा परिवारको सङ्ख्या तथा कृषि विवरण बारेमा तत्थ्याङ्क लिने काम गरिरहेका छन् ।

खटिएका सुपरीवेक्षकले अहिले यहाँका नौ वटै स्थानीय तह दिपायल सिलगढी, शिखर नगरपालिका, केआइसिंह, आदर्श, सायल, पूर्वीचौकी, बोगटानफुड्सिल, बडिकेदार तथा जोरायल गाउँपालिकाका स्थानीयवासीका घरघरमा पुगेर सूचीकरण फारम भर्न थालेको बताइएको छ ।

नागरिकको सूचीकरणकालागि जिल्लाभरीका कुल७५जना सुपरीवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालयका प्रमुख खेमराज भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको जनगणना अन्तर्गत घर, परिवारलगायतको गणना गर्न कार्य भइरहेको छ । जस अन्तरगत सुपरीवेक्षकले घरको विवरण, घरमूलीको नाम, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएको लगायत २० वटा प्रश्न सोध्ने काम गरिरहेका छन् ।

भौगोलिक दृष्टीकोणले दुर्गम तथा वर्षाका कारण यहाँका स्थानीय तहका गाउँमा परिचालन गरिएका सुपरीवेक्षकलाई तथ्याङ्क सङ्लनमा केही समस्या भएको जिल्ला जनगणना कार्यालयले जनाएको छ ।

उता यहाँका गाउँघरका नागरिकले तथ्याङ्क सङ्लनका लागि आएका सुपरीवेक्षकहरुलाई पक्कि घर भएपनि गलत रिपोर्ट अर्थात कच्चि घर भएको लेखिदिन आग्रह गर्ने गरेको बताइएको छ ।

सरकारले अनुदानमा घर दिने भ्रम फैलिएका कारण उनीहरुले पक्कि घर भएपनि कच्चि घर भएको रिपोर्ट लेखाउने गरेको पाइएको सुपरीवेक्षकहरु बताउँछन् ।

भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलनको काममा प्रभावित भएको प्रमुख भट्टले बताउनुभयो । उहाँले भन्नुभयो–कतिपय गाउँमा नेटमात्रै होइन फोन समेत लाग्दैन गाउँमा गएका साथीहरुलाई सम्पर्क गर्न समेत कठिन भएको छ, तथ्याङ् सङ्कलनमा समस्या हुँने नै भयो नि ।

समय छोटो भएको र रकम पनि नआएकोले गाउँमा गएका गणकलाई पैसा दिन बजेट अभाब अभाब हुँदा झनै समस्या भएको प्रमुख भट्टले गुनासो गर्नुभयो ।

सुपरीवेक्षकहरुले मोवाइल एपको सहायतामा घरघरमा गएर दैनिक तथ्याङ्क सङ्कलन गर्नुपर्ने नियम रहेका कारण नेट र फोन कतिपय गाउँमानभएका कारण समस्या भएको जिल्ला जनगणना कार्यालयले जनाएको छ ।

जिल्ला सदरमुकामस्थित दिपायल सिलगढी तथा शिखर नगरपालिकाबाहेक अन्य सात वटा स्थानीय तहमा खटिएका सुपरीवेक्षकलाई तथ्याङ्क सङ्कलन गर्न समस्या भएको छ। गाउँमा खटिएका सुपरीवेक्षकका सुरक्षाका लागि स्थानीय तहमा रहेका प्रहरी चौैकीसँगको समन्वयमा प्रहरी टोली खटाइदै आएको राष्ट्रिय जनगणना जिल्ला संयोजक समेत रहनु भएका निमित्त प्रमुख जिल्ला किरण जोशीले बताउनुभयो।

उहाँले भन्नुभयो–अधिकाँस सुपरीवेक्षकहरु स्थानीय तहकै नागरिक छन्, उनीहरु गाउँमा जाँजा सुरक्षाकालागि त्यहीका सुरक्षाकर्मीको समन्वयमा खटाउने व्यवस्था मिलाएका छौँ, सररक्षाको समस्या केही छैन् ।

विसं २०६८ को जनगणना अनुसार जिल्लाको जनसङ्या दुई लाख ११ हजार ७४६ रहेको छ । पहिलो चरणमा सङ्लन गरिएको घरधुरी तथ्याङ्का आधारमा आगामी कात्तिक महिनामा मूल गणना गरिने कार्यालयले जनाएको छ।

मूल गणना अगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ। प्रत्येक दश दश वर्षमा जनगणना गरिन्छ। यसपटक भइरहेको राष्ट्रिय जनगणनाको नारा ‘मेरो गणना, मेरो सहभागिता राष्ट्रिय जनगणना, २०७८’ रहेको छ।

प्रतिक्रिया दिनुहोस्