चर्चा नपाएको त्रिधार्मिक स्थल सत्यश्वर महादेव गुफा



रामधन राई, खोटाङ ।

खोटाङको प्रसिद्द हलेसी नजिकै रहेको अर्को त्रिधार्मिकस्थल महादेव बुक्टो अर्थात सत्यश्वर महादेव गुफा चर्चामा आउन सकेको छैन ।परापूर्वकालदेखि हिन्दु, बौद्द तथा किरात समुदायले आस्था मान्दै आएको उक्त ठाउं आकर्षक तथा आश्चर्यजनक गुफाहरु प्रचार–प्रसारको अभावमा चर्चामा आउन सकेको छैन ।

हलेसीबाट करिब तीन किलोमिटरको दुरीमा पर्ने हलेसी तुवाचुङ नगरपालिका–३ मंगलटारको घुर्चुमा रहेको उक्त महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थलको उचित संरक्षण तथा प्रवद्र्दन समेत हुन नसकेका स्थानीयको भनाई छ । सत्यश्वर गुफालाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सकिने प्रचुर सम्भावना रहेको गुफा व्यवस्थापन समितिका अध्यक्ष टीकाराम राईले बताउनुभयो । सत्यश्वर महादेव गुफा अर्थात महादेव बुक्टो क्षेत्र प्राकृतिक हिसाबले समेत सुन्दर रहेको अध्यक्ष राईको भनाई छ ।

सत्यश्वर महादेव गुफाका चट्टानमा हिन्दु धर्मालम्बीको महादेव, पार्वती, कृष्ण, हनुमान लगायतको प्राकृतिक आकृति रहेका छन् । अर्को गुफामा बौद्ध धर्मालम्बीको आस्थाको प्रतिक छ्योर्तेन (माने), बोधीचित्तको दाना, गुरु रिम्पोचेको पदचापको मुर्ति र निशानासमेत रहेको देखिने स्थानीय सुनाउँछन् ।

यस्तै, सोही ठाउँको महादेव गुफामा किरातीहरुको मुलदेवताको प्रतीक तीन चुल्हो(नागेलुम) र साकेलाको प्रतिक नागस्थानसमेत रहेको छ । उत्तरतर्फ फर्केको पहारामा अवस्थित गुफा वरिपरि स–साना गुफाहरुमा विभिन्न देवीदेवताहरुको स्वरुप मिल्ने आकृतिहरुसमेत देख्न सकिन्छ ।

सो स्थलमा तीनै धर्मका साधक तथा ठूला–ठूला धार्मिक गुरुहरु तथा देशविदेशका धर्मवालम्बीहरुले साधना गर्ने गरेको बताईएको छ ।
गुफाको आसपासमा हुुनुमानले उचालेको हिमालय पर्वत, कृष्णको बाँसुरी, जोर मादल, कामुधेनु गाईको दूध, बोधीचित्तको दानाहरु, गुरु रिम्पाचेको पदचिन्ह, जल बिहार गर्ने कर्कटको आसन जस्ता आकृति हेर्न पाइन्छ ।

नागथानका रुपमा चिनिने उक्त गुफाको बीचमा रहेको अर्को गुफाभित्र शिवजीले धारण गर्ने गोमन सर्पको फना खोलेको शिर छ । यस्तै पानीको मुहानबाट कोशीतर्फ लम्कदै गरेको नागको अर्को आकार देख्न सकिन्छ ।

गुफाभित्र केही अफ्ठ्यारो तर, प्वालबाट हेर्दा नागेलुम लुकेर बसेकी छन् । कुनै बेला महादेव शिव कैलाश पर्वतबाट बृखाशुर नामक राक्षससँग भाग्दै आउँदा दूधकोशीको जयरामघाट स्थानीय राई भाषामा (वारीपुङ) आएका र त्यसपछि भाग्दै आउने क्रममा सत्यश्वर गुफामा एक रात लुकेर बसेको किंबदन्ती छ ।

सत्यश्वर गुफामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएपछि गुफा वरिपरि पदमार्ग निर्माण गर्न नगरपालिकाले गत वर्ष दश लाख रुपैंयाँ बजेट विनियोजन गरेको थियो ।

धार्मिक पर्यटकको प्रचुर सम्भावना रहेको घुर्चुको सत्यश्वर गुफा स्तरोन्नतिका लागि हलेसी महादेव विकास समितिबाट दुई लाख बजेट प्राप्त भएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष नीरकुमार राईले जनाउनुभयो ।बिश्वप्रसिद्द हलेसीमा मेला लाग्ने हरेक तिथिमा सत्यश्वर महादेव गुफामा पनि मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्