प्रमुख प्रशासकीय भवन निर्माणमा तीव्रता



दिलकुमार लिम्बु ,ताप्लेजुङ ।

ताप्लेजुङको एक मात्र नगरपालिका फुङ्लिङ नगरपालिकाले प्रमुख प्रशासकीय भवन र वडा भवन निर्माण कार्यमा तीव्रता दिएको छ । नगरपालिकाको प्रमुख प्रशासकीय भवन ८० प्रतिशत निर्माण कार्य सम्पन्न गरेको छ ।

फुङ्लिङ नगरपालिका–७ दोखुमा आफ्नो प्रमुख प्रशासकीय भवन निर्माण भइरहेको छ । नगरपालिकाको २४ वटा कोठा रहेको भवन निर्माण कार्य सम्पन्न हुन २० प्रतिशत मात्र बाँकी रहेको फुङ्लिङ नगरपालिकाका प्रमुख प्राविधिक मिलन गिरीले बताउनुभयो ।

भवन निर्माण कार्य सम्पन्न भई सकेको र भित्र कोठाहरूको डिजाइनको काम भइरहेको प्राविधिक गिरीले बताउनुभयो ।
आर्थिक वर्ष २०७८-७९ को चैत १२ सम्म सम्पन्न गर्ने गरी कुल ७ करोड ६६ लाख रुपियाँको ठेक्का सम्झौता भएको नगरपालिकाले जनाएको छ ।

आगामी दशैंपछि आफ्नै भनवबाट नगरपालिकाले सेवा दिने योजनाका साथ तीव्ररुपमा काम भइरेको फुङ्लिङ नगरपालिकाका उपमेयर बम बहादुर भट्टराई (तारा)ले बताउनुभयो ।

ताप्लेजुङको सदरमुका फुङ्लिङ बजारमा निजी घर भाडामा लिएर नगरपालिकाले प्रमुख प्रशासकीय काम सञ्चालन गर्दै आएको छ । प्रमुख प्रशासकीय कामकाज सञ्चालन गर्न नगरपालिकाले मासिक ७५ हजार रुपियाँ घर भाडा बुझउँदै आएको नगरपालिकाका लेखा अधिकृत जितेन्द्र तामाङले बताउनुभयो ।

नगरपालिकाको ११ वटा वडा रहेको छ । १ र ४ नम्बर वडाले आफ्नो वडा कार्यालयको भवन निर्माण सम्पन्न गरी आफ्नै भवनबाट सेवा दिँदै आएको फुङ्लिङ नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले बताउनुभयो । वडा नम्बर ९ र १० वडाको पुरानो गाविस भवनबाट सेवा दिँदै आएको छ ।

२,३,६,७,८ र ११ वडाहरूको वडा कार्यालय यसै आर्थिक वर्षमा सम्पन्न गर्नका लागि नगरपालिकाले दुई करोड १० लाख रुपियाँ बजेट विनियोजन गरेको प्रवक्ता न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्