मुहार फेर्दै ‘कान्ति ताल’



बाँके (नेस) ।

नेपालगञ्जको कान्ति तालको मुहार फेरिएको छ ।

वर्षैंदेखि बेवारिसे अवस्थामा रहेको ताललाई नेपालगञ्ज उपमहानगरपालिकाले पर्यटकीय स्थलको रूपमा विकास गर्दै अघि बढेपछि कान्ति तालको मुहार फेरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको २१ र २२ नम्बर वडामा पर्ने कान्ति ताललाई साढे दश करोड लगाएर ‘हराभरा’ गराइदै छ ।

उपहानगरपालिकाका इन्जिनियर सुरज शर्माले कान्ति तालमा सात मिटरको बाटो, पक्की नाला, पार्किङ एरिया, रेलिङ, वृक्षरोपण गरिएको बताउनुभयो । ‘दुरगामी सोचका साथ कान्ति तालको विकास गरिंदैछ, शर्माले भन्नुभयो – ‘राम्रो मानव बस्तीको कल्पना गरिएको छ । पर्यटकका लागि आकर्षित ठाउँ बनाइँदैछ ।’

कान्ति ताल २५ बिघामा फैलिएको छ । बाहिरी संरचनालाई राम्रो बनाउनुका साथै तालमा बोटिङको प्रबन्ध गरिंदैछ । नेपालगञ्ज उपमहानगरपालिकाले बाहिरी या आन्तरिक पर्यटकका लागि कान्ति ताललाई हेर्न लायक बनाउने रणनीतिअनुसार काम गरिरहेको छ ।

उपमहानगरपालिकाले यो वर्ष ३५ लाख रुपियाँ छुट्याएको छ । ताल सञ्चालनका लागि ठेक्का दिइसकिएको छ । इन्जिनियर शर्माका अनुसार, २२ लाखमा तालको ठेक्का लागेको छ ।

बेवारिसे अवस्थामा रहेको तालको संरक्षण र पर्यटकस्थल बन्न थालेपछि आसपासका बासिन्दा खुशी भएका छन् । तालको छेउछाउको जग्गाको मूल्य आकाशिएको छ ।

स्थानीय पप्पु पासीले ताललाई पर्यटकीय गन्तव्य बनाउन थालिएपछि आफूहरू धेरै खुशी भएको बताउनुभयो । पासीले भन्नुभयो –‘भैंसी आल खेल्ने ठाउँको रूपमा परिणत भएको थियो । केही वर्षयता उपमहानगरपालिकाले लगातार काम गरेर सौन्दर्यीकरण गरिरहेको छ ।

अहिले नै साँझ र बिहान मान्छेको भीड लाग्ने भइसकेको छ । तालमा बोटिङको व्यवस्था भयो भने त मान्छेको लाइन नै लाग्छ ।’
ताल वरिपरि बाटो बनाइएको छ ।

२५ बिघाको ताललाई घेरेर बाटो बाटो, नाली, वृक्षरोपण गरिएपछि अहिले बिहान र बेलुका वाकिङ गर्नेको भीड लाग्ने गरेको छ । प्राकृतिक सौन्दर्यको मजा लिँदै शहरका विभिन्न ठाउँबाट तालमा एरियामा पुग्ने गरेका छन् । टिकटक र फोटो खिचाउनेहरू प्रशस्त भेटिन्छन् ।

पुराना ताल तलाउको संरक्षण र त्यसलाई पर्यटकीय स्थल बनाउने उपमहानगरपालिको योजना रहेको छ ।नेपालगञ्जको वडा नं. १ मा रहेको वाटरपार्कलाई पनि पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ । आजकै दिनमा नेपालगञ्जमा वाह्य पर्यटकमा आएमा देखाउने ठाउँ भनेको वागेश्वरी मन्दिर, महेन्द्रपार्क र व्यक्तिगत रूपमा खोलिएका फनपार्कहरू रहेका छन् ।

चालु आर्थिक वर्षमै सबै काम सक्नेगरी कान्ति तालमा काम भइरहेको छ । कान्ति ताल र वाटरपार्कको निर्माण सम्पन्न भएमा नेपालगञ्ज आउने पर्यटकको केही दिनको बसाई रमणीय हुने विश्वास गरिएको छ ।

नेपालगञ्जमा पश्चिम नेपालको पर्यटकीय स्थलको भ्रमण गर्न आउने पर्यटकको लागि प्रवेशद्वार मानिन्छ । यहाँबाट नेपाल भित्रिएका पर्यटकलाई एक-दुई दिन नेपालगञ्जमै बास बसाउनका लागि कान्ति ताल, वाटरपार्कको सौन्दर्यकरण आवश्यक रहेको छ ।

नेपालगञ्जबाट बाहिरिदा बाँके निकुञ्ज अर्को गन्तव्य हुन सक्छ । दुर्लभ वन्यजन्तु पाटेबाघ र चौकाको बास स्थान रहेको निकुञ्जको अहिलेसम्म मार्केटिङ हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्