चितुवाले कालिज खाँदा पाँच लाख बढीको क्षति



विमल विष्ट, डोटी ।

डोटीको केआइसिंह गाउँपालिका–६ भूमिराजमाडौैंको फलेडीमा व्यवसायिक रूपमा पालन गरिएका बहुउद्देश्यीय कालिज फार्ममा जङ्गली चितुवा पसेर सबै कालिज मारेको छ । उक्त वडाका स्थानीयवासी कर्ण बोहराले व्यावसायिक रूपमा पालन गरेको कालिज फार्ममा सोमबार राती पसेको चितुवाले कम्तीमा पनि एक सय ५० कालिज मारेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायव निरीक्षक रूपसिंह थापाले जानकारी दिनुभयो ।

जङ्गलबाट राती फार्ममा पसेको उक्त चितुवाले कालिज मार्न थालेपछि बिहान स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । फार्मभित्र पसेको चितुवालाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा बिहान धपाइएको थियो । बिक्रीका लागि तयारी अवस्थामा रहेका कालिज चितुवाले मारेपछि कम्तीमा पनि पाँच लाख २५ हजार नोक्सानी भएको उक्त कालिज फार्म सञ्चालक कर्ण बोहराले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘निकै मिहिनेत गरेर कालिज पालन गरेको थिएँ, चितुवाले सबै मा¥यो, पाँच लाख २५ हजारको नोक्सान गरिदियो ।’

जिल्लामा पछिल्लो समय यहाँका युवाहरूले व्यवसायिक रूपमा कालिज पालन शुरू गरेका थिए । जिल्लामा कालिजको मूल्य ३ हजार ५सयदेखि पाँच हजारसम्म पर्ने गरेको छ । कालिज पालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले पनि आर्थिक सहयोग गर्न थालेपछि यहाँका युवाहरू कालिज पालनमा आर्कषित भएका हुन् ।

जिल्लाको बोगटान फुड्सिलका देवबहादुर बोहराले पहिलो पटक कालिज पालन शुरू गर्नु भएको थियो । कालिजको माग जिल्लामा बढ्दो क्रममा रहेको छ । चितुवाले क्षति गरेको भन्दै कालिज व्यावसायिक कर्ण बोहराले क्षतिपूर्तिका लागि पहल गरिदिन सबैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्