खोटाङ।
जनप्रतिनिधिविहीन वनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका कार्यवाहक अध्यक्षको जिम्मेवारी सोही नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले सम्हाल्ने निर्णय भएको छ । पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको भन्दै वडाका सम्पूर्ण जनप्रतिनिधिको पद स्वतः रिक्त गरिएपछि उक्त वडा जनप्रतिनिधिविहीन बनेका थिए ।
शुक्रवार पाथेका छलफलमा पुग्नुभएको मेयर भट्टराईले उक्त वडाका क्रियाशील राजनीतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवी लगायत सर्वदलीय सर्वपक्षीय छलफल र सम्बन्धित निकायको रायवाट आफूलाई कार्यवाहक वडाध्यक्षको समेत जिम्मेवारी दिइएको जनाउनुभयो । शुक्रवारै नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरी वडाध्यक्षको जिम्मेवारी बहन गरी नागरिक सेवा सुचारु गर्नका लागि निर्णय साथ आफूलाई अनुरोध गरिएको मेयर भट्टराईले स्पष्ट पार्नुभयो ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा नियमावली २०७४ मा भएको व्यवस्था अनुरुप निर्वाचन आयोगको यही मंसिर २ गतेको निर्णय अनुसार उक्त वडा समितिमा वडाध्यक्ष मुगाधन राई लगायत वडा सदस्यहरुको स्वतः पद रिक्त भएको सूचना जारी भएको थियो । राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को उपनियम २ बमोजिम वडामा सम्पूर्ण पदाधिकारीको पद स्वतः रिक्त भएको निर्वाचन आयोगवाट मंसिर ३ गते जानकारी गराइएको थियो ।
वडाध्यक्ष राई श्रम संस्कृति पार्टीमा प्रवेश गरिसक्नुभएको छ । वडाध्यक्षको पद कुनै कारणले रिक्त भएमा वा निलम्बनमा परेमा वडा समितिका सदस्यहरुले आफुहरुमध्येवाट छनौट गरेको सदस्यले कार्यवाहक अध्यक्ष भई काम गर्ने कानुनी प्रावधान रहेको छ । यद्यपी सो वडाका अध्यक्ष लगायत सबै सदस्यहरुको पद स्वतः रिक्त भएपछि तत्कालै तालुक मन्त्रालय भूमि व्यवस्था, सहकारी , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अवाश्यक निर्देशनको अनुरोध गरिएको मेयर भट्टराईले उल्लेख गर्नुभयो ।
पाथेकाका वडाध्यक्ष राईसँगै वडा महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता विक, वडा सदस्य रामधन राई र शहरमनी राईको पद समेत रिक्त भएको छ । शहरमनी, कल्पना र गीता तत्कालिन नेकपा माओवादी केन्द्रवाट निर्वाचित हुनुभएको हो । तर, वडामा चुनावी तालमेल गर्दा तत्कालिन छाता चुनाव चिन्हवाट प्रतिस्पर्धा गरेका कारण हाल सो पद गुमाउनु परेको हो । यस्तै, तत्कालिन एकीकृत समाजवादी पार्टीका रामधन जनता समाजवादीका छाता चुनाव चिन्हवाटै चुनाव लडेका कारण अहिले पद गुमाउनुपरेको हो ।
आयोगको निर्णयसँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका जनप्रतिनिधिविहीन बनेको छ । वडाध्यक्षसहित वडाका पाँचै जना निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएपछि वडा जनप्रतिनिधिविहीन बनेको हो । यसले वडाको स्थानीय सरकार सञ्चालन तथा सेवा प्रवाहमा प्रभाव पर्ने देखिएको छ ।
यससँगै, जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको पद पनि रिक्त भएको छ । जसपा नेपालको केन्द्रीय समन्वय समितिबाट प्राप्त निर्णयका आधारमा आयोगले पद रिक्त गर्ने निर्णय गरे गरेसँगै जिसस प्रमुख राई पदमुक्त हुनुभएको हो । जिसस प्रमुख राई हाल नेपाली कम्युनिष्ट पार्टीमा हुनुहुन्छ ।
त्यस्तै, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईको पद पनि रिक्त भएको छ । गाउँपालिका उपाध्यक्ष राई श्रम संस्कृति पार्टीमा प्रवेश गरिसक्नुभएको छ ।
नगर कार्यपालिका सदस्य विरेन्द्र दर्नालको पद पनि गुमेको छ । दर्नाल अशोक राई नेतृत्वको समाजवादी पाटीमा जानुभएको छ । तर, तत्कालीन छाता चुनाव चिन्हवाट प्रतिस्पर्धा गरेका कारण हाल सो पद गुमाउनुपरेको हो ।।








तपाईंको विचार लेख्नुहोस्