गौरीशङ्कर बालगृहलाई खाद्यान्न सहयोग



दोलखा(नेस) ।

दोलखा भीमेश्वर नगरपालिका– ५ मा रहेको गौरीशङ्कर बालगृहलाई सर्लाही नेत्रगञ्ज – ३ को असल प्रयास सेवा समाज नेपाल र दोलखा भीमेश्वर नगरपालिका– ६ मा रहेको अर्पण फर्निचर उद्योगले संयुक्तरूपमा खाद्यान्न लगायतका सामग्री प्रदान गरेका छन् ।

कोरोना संक्रमणका कारण बालगृहमा रहेका बालकलाई दैनिक गुजारामा समेत समस्या हुनसक्ने अवस्था भएपछि आफूहरूले प्रभु येशुख्रिस्टको नाममा चढाएको भेटिको रकमबाट खाद्यान्न लगायतका सामग्रीहरू प्रदान गरेको अर्पण फर्निचर उद्योगका सालिम तमाङले बताउनुभयो ।

अर्पण फर्निचर उद्योग स्थापना भएको एक वर्ष पुगेको अवसरसमेत पारेर बालगृहलाई चामल १५ बोरा, दाल २० केजी, तेल २ कार्टुन, चाउचाउ ३ कार्टुन, मन्जन र ब्रस ६० वटा, साबुन १ कार्टुन र मिठाइहरूसमेत गरी ४० हजारभन्दा बढीको अत्यावश्यक सामग्री उपलब्ध गराइएको सालिमले बताउनु भयो ।

उक्त सामग्री नेपाल बाल सङ्गठन जिल्ला कार्यसमिति दोलखाका सभापति एवं गौरीशङ्कर बालगृहका अध्यक्ष रामप्रसाद सापकोटालाई अर्पण फर्निचर उद्योगका सञ्चालक चन्द्रबहादुर तमाङले हस्तान्तरण गर्नु भएको थियो ।

सो अवसरमा अध्यक्ष सापकोटाले बालगृहलाई नेपाल बाल सङ्गठनले उपलब्ध गराउने रकममात्र प्रयाप्त नहुने भएकोले बिभिन्न दाताहरूको सहयोग महत्वपूर्ण हुने बताउनु भयो ।

कार्यक्रममा पत्रकार गोकर्ण भण्डारी, अर्पण फर्निचर उद्योगका मार्था तमाङ, अर्पण तमाङ लगायतको सहभागिता रहेको थियो । बालगृहमा हाल दोलखालगायत देशका विभिन्न जिल्लाबाट आएका २९ जना बालक रहेको गौरीशङ्कर बालगृहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्