बेलीब्रिज सञ्चालनमा आएपछि स्थानीय खुशी



वासुदेव शर्मा, जाजरकोट ।

वर्षायामको समयमा यातायात सञ्चालन गर्न कठिन भेरी करिडोरमा पर्ने जाजरकोट डोल्पा सडक खण्डमा बेलीब्रिज सञ्चालनमा आएको छ । नलगाड नगरपालिका ५ को झुम्रेखोला, नलसिंहगाडमा बेलीब्रिज निर्माण भएपछि यातायात सञ्चालनमा सहज भएको हो ।

४ सय १७ मेगावाट क्षमताको नलगाड हाइड्रोपावर निर्माण हुने नलगाड खोलामा पुल निर्माणका लागि स्थानीय सरकार, सरोकारवालाले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएपछि सडक डिभिजन कार्यालय चौरजहारीले छेडागाडको बेलीब्रिजलाई नलसिंहगाड र झुम्रे खोलामा जडान गरेको छ ।

छेडागाडमा पक्की पुल निर्माण भएपछि प्रयोगविहीन अवस्थामा रहेको बेलीब्रिजलाई नलगाड र झुम्रे खोलामा जडान गरेपछि बारेकोट गाँउपालिका,नलगाड नगरपालिकाको प्रशासनिक केन्द्र दल्ली हुँदै डोल्पा सडक खण्डको तल्लुबगरसम्म सीधा सवारी साधन सञ्चालनमा आएका छन् ।

नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले पूर्वी क्षेत्रका नागरिक, डोल्पा जिल्लाका यात्रुलाई मध्यनजर गर्दै यातायातमा सहजता ल्याउने उद्धेश्यले सरोकारवाला निकायसँग अनुरोध गरेपछि सरोकारवाला निकायले माग सम्बोधन गरेको नगर प्रमुख रावलले बताउनुभयो । बेलीब्रिज निर्माण भएपछि नागरिकलाई आवतजावत र दैनिक उपभोग्य वस्तु ढुवानीमा सहजता आएको उहाँको भनाइ छ ।

राष्ट्रिय गौरवको आयोजना नलगाड जलविद्युत् निर्माण हुन लागेको स्थानमा पुल नहुँदा सवारी साधन आवतजावत र दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या हुने गरेको थियो । कालीमाटीसम्म पुग्ने गरेका सवारी साधनले ढुवानी गरेको उपभोग्य सामग्री बारेकोट, दल्ली कैनबजार, तल्लुबगर लगायत डोल्पासम्म लैजान नागरिकले बोकेर घोडा खच्चरबाट लिने गरेका थिए । बेलीब्रिज सञ्चालनमा आएपछि नागरिकले दैनिक उपभोग्य सामग्री थाप्लोमा बोकेर लिनुपर्ने अवस्थाको अन्त्य भएको नलगाड नगरपालिका ५ का वडा अध्यक्ष केशव प्रसाद शर्माले बताउनुभयो ।

नलगाड नगरपालिकाको प्रशासनिक केन्द्रसँग जोडिएको नलसिंहगाडमा बेलीब्रिज सञ्चालनमा आएपछि नेपालगञ्ज सुर्खेत, जाजरकोट सदरमुकाम र कालीमाटी,बारेकोट,तल्लुबगरसम्म नागरिकलाई यात्रा र दैनिक उपभोग्य सामग्री ढुवानी सहज भएको छ ।

जाजरकोटदेखि डोल्पा जिल्ला आवतजावत गर्ने प्रवेशद्वारका रूपमा रहेको नलगाडमा बेलीब्रिज निर्माण भएपछि तल्लुबगरसम्म सवारी साधन नियमित सञ्चालनम भएका छन् । जाजरकोटदेखी डोल्पाको सडक खण्डमा पुल नहुँदा यात्रुहरूलाई समस्या हुने गरेको छ । अधिकांश स्थानमा पुल नहुँदा जाजरकोट डोल्पा सीधा यातायातका सेवा सञ्चालन हुन सकेका छैनन् । पुल निर्माण गरी सीधा सेवा दिन पहल गर्न सरोकारवालाहरूसँग नागरिकले आवाज उठाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्