ब्लड बैंक नहुँदा बिरामी समस्यामा



नेपाल समाचारपत्र, पर्वत ।

पर्वतको कुस्माबजारमा ब्लड बैंक नहुँदा बिरामीले रगत अभावको समस्या भोग्नुपरेको छ । जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नुपर्ने भए पनि जिल्लामा ब्लड बैंक नभएपछि अन्यत्रै लैजानुपर्ने बाध्यता रहेको छ ।

कुस्मामा एउटा सरकारी अस्पतालसहित आधा दर्जन निजी अस्पतालहरू छन् तर शल्यक्रिया गर्नुपर्ने बिरामीहरूले रगतको अभाव निरन्तर झेल्दै आएका छन् । शल्यक्रियाका लागि आवश्यक रगत बिरामीका आफन्तले खोजेर ल्याएपछि मात्र अस्पतालले शल्याक्रिया गर्दै आएको छ । बिरामीले तत्काल रगत नपाउने र समूह नमिल्नाले बिरामीको उपचारमा समस्या हुने गरेको जिल्ला अस्पताल पर्वतका प्रमुख डा. ढुण्डीराज पौडेलले बताउनुभयो ।

जिल्लामा नेपाल रेडक्रस सोसाइटीले आकस्मिक रक्त सञ्चार सेवा भनेर स्थापना गरेको भए पनि यहाँ ब्लड ग्रुप छुट्याउने काममात्र हुने गरेको छ । रेडक्रसले ब्लड बैंक सञ्चालन गरेर आवश्यक रगत उपलब्ध गराउन नसक्दा गाउँबाट उपचारमा आएका कतिपय बिरामीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भए पनि सम्भव भएको छैन ।

जिल्ला रेडक्रसले आवश्यक रगत उपलब्ध गराउन नसक्दा यस्तो स्थिति भएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो । बिरामीलाई रगत अभाव भएमा फेसबुक पोस्ट गर्नुपर्ने र फोन गरी रक्तदातालाई बोलाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । ‘अहिले बिरामीलाई रगत अभाव भएमा फोन गरेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी अन्य दाताको सहयोगमा रगत प्राप्त गरिरहेका छौं,’ उहाँले भन्नुभयो– ‘रगत समयमा पाउन नसकेमा अन्य अस्पतालमा पठाउने गरेका छौं ।’

सञ्चार केन्द्रका लागि पटक–पटक आग्रह र आवश्यक उपकरण अस्पतालबाट उपलब्ध गराए पनि रेडक्रसले खासै चासो नदिएको पहाडीको गुनासो छ । जिल्लामा ब्लड बैंक भएमा बिरामीलाई चाहिने रगत खोज्न भौतारिनुपर्ने बाध्यता अन्त्य हुने लायन्स ब्लब अन्तर्राष्ट्रिय ३२५ बी १ डिस्ट्रीक को चिफ एडभाइजर वसन्त कर्माचार्य बताउनुहुन्छ ।

‘रगत नपाइँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था छ’, कर्माचार्यले भन्नुभयो– ‘ब्लड बैंक चाँडै स्थापना गर्न जरुरी छ । अहिले रक्तदान गरेर रगत जम्मा गर्न खोजे पनि राख्ने ठाउँ छैन । हामीसँग ब्लड बैंक भइदिएको भए रक्तदान अभियान चलाउँथ्यौँ ।’ रेडक्रसले भवन उपलब्ध गराए साझेदारी गर्छांै भन्ने प्रतिबद्धता गरेको भए पनि कार्यान्वयन नभएको उहाँको गुनासो छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति रुद्र रिमालले भने मागअनुसारको रगत पुग्ने गरी दिन नसकेको स्वीकार गर्नुभयो । उहाँले अस्पताल तथा अन्य निकायबाट आधुनिक उपकरण प्राप्त भएको भए पनि त्यसलाई व्यवस्थित गर्दै अगाडि बढ्न नसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्