२८ करोड ३५ लाखमा सिंचाइ योजना निर्माण



गणेश घिमिरे, इलाम ।

जिल्लाको चुलाचुली गाउँपालिका वडा नम्बर ३, ४ र ५ मा सिंचाई सुविधा उपलव्ध गराउने उद्देश्यले रतुवा खोला सिंचाई योजना निर्माण सम्पन्न भएको छ । सिंचाई विकास डिभिजन कार्यालय इलाममार्फत रतुवा खोलामा बाँध निर्माण गरी चुलाचुलीका तीनवटै वडामा चार सय ५० हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा उपलब्ध गराउन उक्त योजना निर्माण गरिएको डिभिजनल इञ्जिनियर रामनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

योजनाको मुख्य काम विधुवा खोलामा भूमिगतरूपमा पाइपलाइन जडान गरी पानी वारपार गराउने कार्य सम्पन्न भएको छ । ६ सय ३५ मिटर एचडीपी पाइप विधुवा खोलामुनि बिछ्याएर निर्माणसमेत गरिएको छ । योजनाअन्तर्गत रतुवा खोलामा बाँध निर्माण गरिएको छ । साढे ९ किलोमिटर मुख्य क्यानल मध्ये ६ किलोमिटर सम्पन्न भएको सिंचाई विकास डिभिजन कार्यालय इलामका इन्जिनियर पुरुषोत्तम शाहले जानकारी दिनुभयो । योजना निर्माण भएपछि स्थानीय क्षेत्रमा बाँझो जमिन सिंचाई उपलब्ध भएको स्थानीय उपभोक्ता सोमनाथ अधिकारीले बताउनुभयो । ११ करोड ४४ लाखमा योजना निर्माण सम्पन्न भएको हो । योजनाको बाँकी खण्डको निर्माण रतुवा खोला सिंचाई जल उपभोक्ता समितिमार्फत हुने बताइएको छ ।

यस्तै, जिल्लाको माई नगरपालिकामा पनि ठ्याउरे खोला फ्याउरे सिंचाई योजनाको पहिलो चरणको निर्माण सम्पन्न भएको छ । वडा ६, ७ र ८ को ११ सय ५० हेक्टर सिंचाई योग्य जमिनमा सिंचाइ सुविधा पु¥याउन सो आयोजनाको निर्माण गरिएको हो । योजनाको जम्मा २४ किलोमिटरमध्ये हाल साढे ५ किलोमिटर खण्डमा पानी सञ्चालन भएको छ । १६ करोड ९१ लाखमा योजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएकोे हो । आयोजनाको बाँकी काम समयमै सम्पन्न गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष शिव कुमालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्