माथिल्लो त्रिशूली–१ आयोजनाको निर्माण शुरू



नेपाल समाचारपत्र, काठमाडौं ।

२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण शुरू भएको छ । भूमिगत विद्युत् गृह जान प्रयोग हुने ‘भेन्टिलेसन टनेल’को काम मंगलबारदेखि शुरू भएको हो ।

रसुवा जिल्लामा निर्माणाधीन सो आयोजनाको २४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि चट्टान फोर्न मंगलबार पहिलो विष्फोट गराइएको आयोजनाले जनाएको छ । मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङलगायतका संरचना निर्माण शुरू भएका छन् । आयोजनास्थलमा क्रसर प्लान्ट तथा ब्याचिङ प्लान्टको स्थापना, निर्माण सामग्रीको परीक्षण, पहुँच सडकका लागि त्रिशूली नदीमा बेली ब्रिजको निर्माण, बाँधलगायतका संरचना निर्माणका लागि रुख कटान, सर्च ट्याङतर्फको पहुँच सडक निर्माणलगायतका काम जारी छ ।
आयोजना निर्माणमा अहिले दुई सय श्रमिक खटिएका छन् भने आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा कोरियन कम्पनी डुसानले ठेक्का पाएको छ ।

वैदेशिक लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली—१ हालसम्मकै ठूलो जलविद्युत आयोजना हो । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोरिया साउथ इन्स्ट पावर कम्पनी (कोयन), विश्व बैक समूहअन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) लगायतको शेयर लगानी रहेको छ ।

आयोजना प्रभावित स्थानीयको लागि अधिकतम १० प्रतिशतसम्म शेयर लगानी सुनिश्चित गरिएको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८ दशमलव ७५ प्रतिशत हिउँद याममा र ६१ दशमलव २५ प्रतिशत वर्षायामा उत्पादन हुनेछ । उत्पादित ऊर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ । २०८३ मंसिरभित्र निर्माण सक्ने लक्ष्य राखिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्