दुई परस्पर विरोधी आयोजना एकैपटक



नेपाल समाचारपत्र, पाल्पा ।

पाल्पामा सरकारको वजेटमार्फत् घोषित दुई परस्पर विरोधी आयोजना सञ्चालन हुन लागेका छन् ।

जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा जलयान सञ्चालन गर्ने र त्यही नदी थुनेर अर्थात डाइभर्सन गरी सिँचाइ र जलविद्युत् आयोजना कसरी सम्भव होला र ? अहिले जिल्लावासीको प्रश्न आयोजना प्रति देखिएको छ । कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि पाल्पा खण्डमा सबस्टेशन राख्ने सम्भाव्यताको अध्ययन हालेै शुरु गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म एक सय ३५ किलोमिटर जलयान सञ्चालन गर्न बनाइएको योजनाअनुरुप कालीगण्डकीको देवघाट र रामपुरमा सबस्टेशनको लागि स्थलगत अध्ययन भइरहेको नेपाल पानीजहाज कार्यालय काठमाडौंले जनाएको छ । कार्यालयले पाल्पा खण्डको रामपुर नगरपालिकाका दुई स्थानमा सबस्टेशन राख्न सम्भाव्यता अध्ययन गरेको हो । कालीगण्डकीको पानीलाई राम्दीबाट मोडेर रुपन्देही, कपिलवस्तुमा सिँचाइ गर्न कालीगण्डकी तिनाउ डाइभर्सन आयोजना पनि सरकारले समावेश गरी कार्य शुरु गर्न थालेको छ ।

जलयान अर्थात पानी जहाज सञ्चालनका लागि रामपुर नगरपालिकाको वडा नं ३ स्थित केलादीघाट र वडा नं ६ स्थित गौरीघाटमा सबस्टेशनको लागि निरीक्षणको काम भएको छ । सम्भाव्यता अध्ययन भएकामध्ये केलादीघाटमा सडकको पहुँच, केन्द्र भाग पर्ने भएकाले त्यहाँ सबस्टेशनको लागि सम्भावना देखिएको हुँदा सो क्षेत्रको माटो परीक्षण तथा सर्भे गरेर असार मसान्तभित्र सरकारलाई सुझावसहितको अध्ययन प्रतिवेदन हस्तान्तरण गर्ने नेपाल पानीजहाज कार्यालय काठमाडौंका इन्जिनियर तथा जलस्रोतविद् अनुप खनालले बताउनु भएको छ ।

पानीजहाज सञ्चालनका निम्ति गत चैतको पहिलो साता राम्दीघाटदेखि देवघाटभित्रको क्षेत्रमा पर्ने एक सय किलोमिटर क्षेत्रमा पानीको गहिराई नाप्ने काम भइसकेको छ । यसअघि पाल्पाको राम्दीदेखि देवघाटसम्म जलयान सञ्चालनका निम्ति छ वटा समूहले स्थलगत परीक्षण तथा स्थलगत सम्भाव्यता अध्ययन तथा निरीक्षणको काम भएको छ । कालीगण्डकीमा जलयान सञ्चालन हुनु यसक्षेत्रका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर जिल्लाको विकासमा ठूलो उपलब्धि हुने स्थानीय रामपुरवासीको भनाइ छ । यसबाट आन्तरिक तथा बाह्य पर्यटक भित्राउनुका साथै जलयात्राका लागि समेत सहज हुनेमा उनीहरु आशावादी छन ।

यसबाट नदी किनार आसपासमा बसोबास गर्ने नागरिकको जीवनलाई प्रभाव पार्ने, उनीहरुको जीवनस्तर माथि उकासिनुका साथै पहाडी भू–भागको कारणले मौसमी यातायात भएकाले कालीगण्डकीमा पानीजहाज सञ्चालनमा आएपछि यातायातमा सहजता स्थानीय सागरप्रसाद देवकोटाले वताउनुभयो ।

यस कुरालाइ २०७८/७९ को बजेटमा समेटिएको छ भने नदीको पानीलाई सदुपयोग गरी आयस्रोत लिने र पर्यटकीय क्षेत्र विकास गर्न कालीगण्डकीमा जलयात्रा सञ्चालनका लागि विभिन्न समयमा विभिन्न निकायबाट परीक्षणका कार्य पनि भइरहेको छ । सरकारले यस पटकको बजेट भाषणमा कालीगण्डकीको पानीलाई राम्दीबाट तिनाउमा लैजाने कुरा उल्लेख गरी कार्य अगाडि बढाएको छ । तिनाउ कालीगण्डकी डाइभर्सन आयोजनाअन्तर्गत नौ डायामिटरको सुरुङ निर्माण हुनेछ । कतिपयले यो आयोजना महत्वाकांक्षी, खर्चिलो र वातावरणीय दृष्टिले समेत उपयुक्त नहुने भनाइ यहीकै जनताले गरेका छन् । उनीहरुको भनाइमा कालीगण्डकीमा पानीजहाज सञ्चालन हुनु तल्लो तटीयबासीको लागि खुशीको कुरा हो । एकातफे जलयातायाको सम्भाव्यता अध्ययन अर्काेतर्फ यही नदी कालीगण्डकीको पानीलाई राम्दीबाट मोडेर रुपन्देही, कपिलवस्तुमा सिँचाइ गर्न तिनाउ कालीगण्डकी डाइभर्सन आयोजना पनि सरकारले समावेश गरेको हुँदा एकैपटक यी दुई आयोजनाको काम कसरी सम्भव भन्ने प्रश्न पनि सँगै उठेको छ, नदी थुनेपछि जलयातायात सम्भव हुँदैन ।

प्रतिक्रिया दिनुहोस्