चुरे क्षेत्रमा नपर्ने गरी खानी उत्खनन गरिने



काठमाडौं, नेस

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुरे संरक्षणको प्रतिकूल हुने गरी कुनै कार्य नगर्ने र सो विषयमा कुनै सम्झौता नहुने बताउनु भएको छ । उहाँले आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित खानी उत्खननको विषयसँग चुरे उत्खननको भाव र आशय समेत नरहेको स्पष्ट पार्नु भएको छ ।नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले चुरे क्षेत्रमा कुनै पनि दोहन हुन नदिने बताउनुभयो । उहाँले चुरे क्षेत्रसँग सम्बन्धित नभएको विषयलाई चुरेसँग जोडेर राजनीति नगर्न आग्रह गर्नु भयो ।

उहाँले खानी विभागले पहिचान गरेका स्थानबाट मात्र वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य सामग्री उत्खनन हुने बताउनुभयो । चुरेको प्रश्नमा तथ्यलाई छोडेर तर्कमा प्रवेश नगर्न आग्रह गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले वातावरण र प्राकृतिक सम्पदाको संरक्षणमा प्रतिकूल हुने स्थानमा नभई वैज्ञानिक हिसाबले उपयुक्त स्थान मात्र उत्खतनन हुने जानकारी दिनुभयो । खानीजन्य सामग्रीको निकासीबारे केहीले छिमेकी मुलुकसँग जोडेर हेर्न खोजेको भन्दै त्यसप्रति आपत्ति प्रकट गर्दै उहाँले सिद्धबाबा क्षेत्रको डाे काट्ने, खन्ने र उत्खनन गर्न नदिने व्यक्ति आफै रहेको बताउनुभयो । उपप्रधान तथा अर्थमन्त्री पौडेलले सिद्धबाबामा सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढेको र सोको लागि बजेट विनयोजन भएर टेण्डर प्रक्रियामा रहेको समेत जानकारी दिनुभयो ।कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीले तराईंलाई मरुभूमिकरण हुन नदिन सरकारले प्रत्येक वर्ष चुरे संरक्षणका लागि डेढ अर्ब रुपियाँभन्दा बढी खर्च गरेको भन्दै वैज्ञानिक रुपमा खानीजन्य सामग्रीको उत्खनन गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिका अध्यक्ष डा। किरण पौड्यालले खानी उत्खनन भन्दैमा पूर्व–पश्चिमको चुरे नपर्ने स्पष्ट पार्दै चुरे क्षेत्रमा खानी उत्खननको प्रस्ताव आए रोक्ने बताउनुभयो । अर्थसचिव शिशिरकुमार ढुंगानाले भौगोलिक र वैज्ञानिक हिसाबले खानी निकाल्न सकिने ठाउँमा मात्र उत्खनन गर्न सकिने भन्दै पहिला देशभित्रको आवश्यकतालाई पूरा गर्ने र त्यसपछि निर्यात पनि गर्न सकिने धारणा व्यक्त गर्नुभयो । वन तथा वातावरण मन्त्रालयका सचिव डा। पेमनारायण कँडेलले चुरेमा खानी पर्दैन भन्नुहुँदै विकास र संरक्षणको माध्य मार्गबाट अघि बढ्न जरुरी रहेको बताउनुभयो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले चुरे क्षेत्रमा नपर्ने गरी खानीको पहिचान गरिएको भन्दै खानी भएका ठाउँमा पनि वन तथा वातावरणीय न्यून प्रभाव हुने गरी मात्र काम हुने जानकारी दिनुभयो । कार्यक्रममा डा। तिर्थबहादुर श्रेष्ठ, डा विनोद भट्ट, डा विजयसिंह दनुवार, रामेश्वर खनाल, मेघराज घिताललगायतले धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्