यी खानेकुराले बढाउँछ प्रतिरक्षा शक्ति



रगतमा डब्लुबीसीको संख्या कम हुँदा शरीरको प्रतिरक्षा शक्ति कमजोर हुन्छ र हामीलाई छिट्टै रोगले आक्रमण गर्छ । रोगसँग लड्ने क्षमता बढाउन शरीरमा डब्लुबीसीको मात्रा पर्याप्त राख्नुपर्छ । हाम्रो शरीरमा प्रतिरोधात्मक क्षमता बलियो भयो भने विभिन्न रोगसँग लड्न सक्छौँ । प्रतिरोधी प्रणालीले विभिन्न रोग तथा ब्याक्टेरियाविरुद्ध लड्न मद्दत गर्छ । हामीले आफू स्वस्थ रहन रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक छ ।

पछिल्लो समय विश्वव्यापीरुपमा फैलिँदै गएको कोरोना भाइरसलाई रोक्नको लागि सबैभन्दा पहिलो त संक्रमित व्यक्तिहरुको नजिक नै नजानको लागि चिकित्सकहरुको सुझाव छ । कोराना लागिसकेको खण्डमा समेत रोग प्रतिरोधात्मक क्षमता धेरै भएका मानिसहरु यसबाट बच्न सक्ने बताइन्छ ।महामारीको समयमा संक्रमित मात्र नभई स्वस्थ व्यक्तिले पनि शारीरिक तथा मानसिकरुपमा आफूलाई बलियो राख्नु अत्यावश्यक छ । शारीरिकरुपमा स्वस्थ राख्न दैनिक व्यायाम, पोषिलो खानेकुरा, प्रतिरोधी क्षमता बढाउने जडीबुटीयुक्त आहार सेवन गर्न राम्रो हुन्छ ।रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई कोरोना भाइरसको संक्रमण बढी देखिएको छ । अहिलेसम्म यसको उपचारका लागि औषधि पत्ता लागेको छैन । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमता नै महत्वपूर्ण हुन्छ ।कोरोनाले दीर्घरोगीहरुलाई बढी सताएको तथ्यांक छ । त्यसैले आफ्नो दैनिकी तथा खानपानमा ध्यान दिन जरुरी छ । हामी नेपाली अलि खानपिन तथा जीवनशैलीमा कम ध्यान दिन्छौँ । धेरै भुटे–तारेको, प्रशोधित खानेकुरा, जंक फुड खाने, व्यायाम नगर्ने बानी रहेको छ । त्यसैले आफू स्वस्थ तथा प्रतिरक्षा प्रणाली बलियो पार्न दैनिकी परिवर्तन गर्नुपर्ने हुन्छ ।

सरकारले अहिले लकडाउन गरेको अवस्था छ । घरबाहिर पनि निस्कन पाइँदैन । केहीले खाद्यान्नको जोहो गर्न पनि भ्याए होलान् । केहीसँग घरमै भएको खानेकुरा होला । बजारका खानेकुराभन्दा घरमै बनाएका खानेकुरामा अझ बढी पौष्टिक तत्व पाइन्छ । त्यसैले घरमै रहेका खानेकुरालाई राम्ररी बनाएर खायौँ भने स्वस्थ भइन्छ ।दैनिक खानेकुरामा पोषिलो, झोलिलो सुपहरु बनाएर खाने गर्नुपर्छ । तातो झोलले शरीर तातो बनाउँछ, जसले गर्दा हत्तपत्त रुघाखोकी लाग्दैन । सुपबाट पाइने भिटामिन, आइरनले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । त्यसै गरी दैनिकरुपमा व्यायाम, योगजस्ता शारीरिक अभ्यासलले पनि मनलाई शान्त र चिन्तामुक्त बनाउन मद्दत गर्छ । यसले पनि शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।भान्छामा दैनिक प्रयोग हुने टिमुर, खुर्सानी, लसुन, प्याज, बेसार, दालचिनी, ज्वानो, जिम्बु, धनियाँ, जिरालगायत मसलाबाट केही हदसम्म रोगको रोकथाम हुने सम्भावना बढ्ने आयुर्वेद ज्ञाताले बताउँदै आएका छन् । बेसारले ‘एन्टिसेफ्टिक’, ‘एन्टिटक्सिन’ औषधिका रुपमा काम गर्दछ । यसका बारेमा अथर्ववेद र आयुर्वेदमा पनि व्याख्या गरिएको छ । क्वारेन्टाइन तथा आइसोलेनसमा बसेका मात्र होइन आम नागरिकले पनि आफूलाई शारीरिक र मानसिकरुपमा स्वस्थ राख्न प्राकृतिक आहार र दैनिक ध्यान तथा योगाभ्यास गर्न जरुरी छ ।यहाँ तल उल्लिखित खानेकुराको नियमित सेवनले शरीरमा प्रतिरक्षा शक्ति बढ्दै जान्छ ।

रातो डल्ले खुर्सानी:

रातो डल्ले खुर्सानीले धेरै भिटामिन दिने हुन्छ । चिकित्सकहरुका अनुसार रातो डल्ले खुर्सानीले अन्य फलफूलहरुले दिने भन्दा दुई गुणासम्म धेरै भिटामिन सी प्रदान गर्ने गर्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनसमेत मद्दत गर्ने गर्छ ।

ब्रोकाउली:

ब्रोकाउली भिटामिन र खनिजको राम्रो स्रोत हो । त्यसैले यो एकदमै स्वास्थ्यवद्र्धक खानेकुरा हो । भिटामिन ए, सी, र ईका साथै धेरै एन्टिआक्सिडेन्टहरूको मात्रासमेत यसमा पाइन्छ । फाइबरले भरिएको ब्रोकाउली हामीले खाने तरकारीहरुमध्ये सबैभन्दा धेरै स्वस्थकर खाना हो । यसले शरीरको शक्तिलाई अक्षुण्ण राख्नको लागि मुख्य भूमिका खेल्ने गर्छ । यो जति सक्दो थोरै पकाउनु नै राम्रो मानिन्छ ।

लसुन: 

लसुन संसारमा लगभग सबैतिर पाइने एक किसिमको खाना हो । यसले शरीरमा स्फूर्ति थप्ने गर्छ । प्राचीन मान्यताअनुसार यसले हाम्रो शरीरमा रहेको इन्फेक्सनविरुद्ध लड्न मद्दत गर्छ । अमेरिकाको नेसनल सेन्टर फर कम्प्लिमेन्ट्री एन्ड इन्टिग्रेटिभ हेल्थका अनुसार लसुनले रक्तचाप कम गर्न र धमनीहरूलाई कडा बनाउने काम गर्छ । लसुनले प्रतिरक्षा प्रणालीमा बढावा दिने गुणयुक्त सल्फर भएका यौगिकहरू, जस्तै– एलिसिन आदि प्रदान गर्छ ।

अदुवा:

अदुवा पनि मानिसको शरीरमा निम्तिने स्वास्थ्य समस्या कम गर्ने अर्को फलफूल हो । अदुवाले घाँटीको दुखाइ र अन्य भड्किलो स्वास्थ्य समस्यालाई कम गर्न मद्दत गर्छ । अदुवाले जीवाणु कम गर्न पनि मद्दत गर्छ ।

पालक:

पालक भिटामिन सी प्राप्त गर्नको लागि अति उपयोगी तरकारी हो । यो धेरै एन्टिअक्सिडेन्टहरू र बिटा क्यारोटिनले भरिएको हुन्छ । जसले हाम्रो प्रतिरक्षा प्रणालीको क्षमतालाई बढाउन सक्छ । ब्रोकाउली र यसलाई सकेसम्म थोरै पकाइन्छ । ताकि यसमा रहेका पोषक तत्वहरुमा कमी नआओस् ।

बदाम:

जति बेला शरीरलाई रुघाखोकीको समस्या आउँछ । त्यति बेला रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि बदाम उपयोगी हुने गर्छ । भिटामिन ई एक स्वस्थ प्रतिरक्षा प्रणालीको लागि महत्वपूर्ण हुन्छ । यो एक किसिमको घुलनशील भिटामिन हो । बदामजस्ता नटहरू भिटामिनले भरिएका हुन्छन् जसका कारण यसले प्रतिरक्षा प्रणालीलाई बढाउन मद्दत गर्छ ।

बेसार:

बेसार पनि रोग प्रतिरोधात्मक क्षमता बढाउने एउटा महत्वपूर्ण खानेकुरा हो । चिकित्सा विज्ञानले पनि यसलाई भिटामिन र खनिजको मुख्य स्रोतका रूपमा लिने गरेको छ । साथै, बेसारमा हाम्रो शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलामतत्व आदि प्रचूर मात्रामा पाइन्छ । दूधमा बेसार मिलाएर खाँदा रुघाखोकी सन्चो हुन्छ भन्ने मान्यता छ । त्यस्तै, महसँग मिसाएर खाएमा घाँटीको समस्या समाधान हुन्छ । एलर्जी, दाद, लुतो आदि छालासम्बन्धी रोगका लागि बेसार प्रभावकारी हुन्छ । बेसारको चूर्ण गहतमा मिसाएर लेप बनाई लगाउँदा छालासम्बन्धी विभिन्न समस्या निको हुन्छ ।

अमिला फल:

सबैजसो अमिला फलमा भिटामिन सी पाइन्छ । भिटामिन सीले शरीरमा डब्लुबीसीको मात्रा बढाउन मद्दत गर्छ । यसबाट शरीरको रोगसँग लड्ने क्षमता बढ्छ । बूढाबूढीहरुलाई चिसो छिटो लाग्ने हुनाले तातो खान दिने, एकछिन् हिँडाउने, अदुवा–पानी, बेसार–पानी खान दिँदा राम्रो हुन्छ ।
– सरु कार्की, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्