कोरोनाका कारण इटालीमा पुनः लकडाउन



रोम, (एजेन्सी) ।

इटालीका अधिकांश पसल, रेस्टुरेन्ट र विद्यालयहरू सोमबार बन्द रहने भएका छन् । इटालीका प्रधानमन्त्री मारियो ड्रागीले नयाँ चरणको कोरोना भाइरस संक्रमण लहर शुरू भएको चेतावनी दिएका छन् । यसैगरी, इसाईहरूको महान् चाड इस्टरको दौरान आगामी ३ देखि ५ अप्रिलसम्म इटालीका सम्पूर्ण सरकारी तथा निजी कार्यालयलगायत व्यापार व्यवसायहरू पूर्णरूपमा बन्द रहने पनि सरकारी सूत्रले जानकारी दिएको छ ।

कोभिड–१९ को डरलाग्दो महामारीबाट जोगिनका लागि गत वर्ष इटाली देशव्यापी लकडाउन गर्ने पहिला मुलुकहरूमध्ये एक रहेको थियो । कोरोना भाइरस संक्रमणकै कारण इटालीमा एक लाखभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए । संयुक्त अधिराज्यपछि भाइरसको कारण सबैभन्दा बढि मानवीय क्षति सहने इटाली दोश्रो युरोपेली मुलुक हो ।

युरोपेली संघको अन्य सदस्य मुलुकका तुलनामा इटालीमा कोभिड–१९ विरूद्धको खोप अभियान पनि ढिलो शुरू भएको छ ।गतसाता रोममा सरकारले खोपमा केही कमी कमजोरी रहेको भन्दै अस्ट्रेलियातर्फ निर्यात गर्न लागेको २ लाख ५० हजार डोज अक्सफोर्ड–एस्ट्राजेनेका खोप निर्यात रोकेको थियो । रगत जम्न सकने साइड इफेक्ट भएको आशंकामा बुल्गेरिया, डेनमार्क र नर्वेलगायत अन्य थुप्रै मुलुकले पनि अक्सफोर्ड – एस्ट्राजेनेका खोपको प्रयोग रोकेका थिए । तर, शुक्रबार विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले यस खोपमा यस्तो कुनै त्रुटि नरहेको स्पष्ट पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्