जनमतको साहित्यिक टोलीलाई त्रियुगा नगरपालिकामा स्वागत

वाङ्मय अभियानलाई स्थानीय तहको साथ र सहयोग आवश्यक रहेकोमा जोड


उदयपुर ।

जनमत वाङ्मय प्रतिष्ठान नेपालको दार्जिलिङ–सिक्किम साहित्यिक यात्राका क्रममा उदयपुरको गाईघाटस्थित त्रियुगा नगरपालिकाले साहित्यिक टोलीलाई स्वागत तथा सम्मान गरेको छ।

त्रियुगा प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राममणि पोखरेलको नेतृत्वमा त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेतलगायतको टोलीले साहित्यिक यात्रामा रहेको जनमत वाङ्मय प्रतिष्ठानको टोलीलाई नगरपालिकामा स्वागत गरेको हो।

स्वागत कार्यक्रममा जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवालले साहित्यिक यात्राको उद्देश्यबारे प्रकाश पार्दै सहभागी टोलीका सदस्यहरूको परिचय गराउनुभएको थियो। उहाँले साहित्यिक यात्राले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन तथा विभिन्न स्थानका साहित्यिक र सांस्कृतिक व्यक्तित्वबीच आपसी सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने बताउनुभयो।

सो अवसरमा प्रतिष्ठानका सदस्य तथा एम्नेस्टी इन्टरनेसनलका मानवअधिकारकर्मी राजु सरकारले धन्यवाद ज्ञापन गर्दै वाङ्मय अभियानमा स्थानीय तहको सहयोग र सहकार्यको महत्त्वमाथि प्रकाश पार्नुभयो।

उहाँले भन्नुभयो, “हामीले सुरुदेखि नै अघि बढाउँदै आएको वाङ्मय अभियानप्रति त्रियुगा नगरपालिकाका प्रमुखले देखाउनुभएको माया, सद्भाव र सहयोग हाम्रा लागि निकै महत्त्वपूर्ण छ। उहाँले आर्थिक तथा व्यवस्थापकीय सुविधासँगै व्यक्तिगत साथ र सहकार्यसमेत प्रदान गर्नुभएको छ। यो हाम्रो अभियानका लागि ठूलो उपलब्धि र प्रेरणाको विषय हो। त्यसैले हामी उहाँप्रति गर्वान्वित र खुसी छौँ।”

वाङ्मय अभियानको सन्देश बोकेर आफूहरू अगाडि बढ्ने उल्लेख गर्दै उहाँले हरेक नगरपालिका, नगरप्रमुख तथा जनप्रतिनिधिसमक्ष वाङ्मयको महत्त्व र समाज विकासमा यसको भूमिकाबारे सन्देश पुर्‍याउनु साहित्यिक यात्राको उद्देश्य रहेको बताउनुभयो।

वाङ्मयमा आबद्ध व्यक्तिहरूले समाजलाई जोड्न, सामाजिक विकृति र विसङ्गतिको शुद्धीकरण गर्न तथा समृद्ध समाज निर्माण गर्न निरन्तर मेहनत र योगदान गर्दै आएको उल्लेख गर्दै उहाँले यस अभियानमा स्थानीय तहको नेतृत्वदायी सहयोग आवश्यक रहेको धारणा राख्नुभयो।

“नेतृत्व भनेको भाषण मात्र होइन, आफ्नो व्यवहार र कामबाट उदाहरण प्रस्तुत गर्नु पनि हो। ‘लीड बाई एक्जाम्पल’ अर्थात् कामबाटै उदाहरण प्रस्तुत गर्ने उत्कृष्ट नमुना त्रियुगा नगरप्रमुखले देखाउनुभएको छ,” उहाँले भन्नुभयो। उहाँले नगरप्रमुख बस्नेतप्रति हार्दिक आभार व्यक्त गर्दै अभियानमा सहयोग गर्ने वाङ्मय तथा प्रज्ञा प्रतिष्ठानका अग्रजहरूप्रति सम्मान व्यक्त गर्नुभयो।

जनमत वाङ्मय प्रतिष्ठान नेपालको साहित्यिक टोली दार्जिलिङ र सिक्किमको साहित्यिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले यात्रामा निस्किएको हो। यात्राका क्रममा विभिन्न साहित्यिक संस्था, स्रष्टा र सांस्कृतिक समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।