एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली


काठमाडौँ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी हार्नका लागि जन्मिएको नभएको भन्दै आगामी दिनमा पुनः निर्वाचन जितेर सरकारको नेतृत्वमा पुग्ने दाबी गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमालेको राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन्।

उनले मुलुकको विकास, राष्ट्रियताको संरक्षण र देशको समृद्धिका लागि एमालेले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै ती जिम्मेवारी पूरा गरेरै छाड्ने जिकिर गरे ।

आगामी निर्वाचनमा स्थानीय तह मुख्य प्रतिस्पर्धाको केन्द्र बन्ने उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई विगतका कमजोरी सुधार्दै जनताको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिए । विगतमा काम गर्ने क्रममा कुनै कमजोरी वा त्रुटि भएको भए त्यसलाई तत्काल सच्याएर जनतामाझ आफ्नो प्रभावकारी उपस्थिति देखाउन उनले आग्रह गरे ।

जनप्रतिनिधिहरूले राम्रो काम गर्न सके पुनः सोही पदमा निर्वाचित हुने सम्भावना रहने उनको भनाइ थियो । जनताको विश्वास र समर्थन प्राप्त गर्ने गरी आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय तहलाई संविधान तथा संघ र प्रदेशका कानुनसँग नबाझिने गरी आवश्यक ऐन तथा कानुन निर्माण गरेर काम गर्न सक्ने अधिकार रहेको पनि स्मरण गराए ।

अध्यक्ष ओलीले अहिले एमाले केन्द्रमा सरकार सञ्चालन गर्ने अवस्थामा नरहे पनि त्यो अवस्था धेरै समय नरहने दाबी गरे । आगामी दिनमा पुनः सरकार सञ्चालन गर्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गर्दै उनले पार्टीले देश निर्माण, राष्ट्रियताको रक्षा र विकासको जिम्मेवारी पूरा गर्ने बताए ।

उनले भने , ‘अब भोलि निर्वाचनमा लडाइँको थलो स्थानीय तह बन्ने वाला छ । यदि हिजो केही कमजोरी रहे भने हतारहतार सच्याउनुस् । जनप्रतिनिधिहरूले आफ्नो कामलाई सुधार्नुपर्छ । राम्रो काम गर्नुभएको छ भने फेरि त्यही पदमा दोहोरिने सम्भावना पनि हुन्छ । त्यसैले मुख्यतः जनप्रतिनिधिहरूले नै कामलाई सोझ्याउनुपर्छ । संविधान तथा संघ र प्रदेशका कानुनसँग नबाझिने गरी आफ्ना कानुन र ऐन बनाउन सक्नुहुन्छ । अहिले हामी केन्द्रीय तहबाट गर्ने ठाउँमा छैनौँ, तर धेरै ढिलो होला जस्तो लाग्दैन । हामी फेरि कानुन बनाउने ठाउँमा पुग्छौँ । हाम्रो पार्टी हार्नका लागि जन्मिएको पार्टी नै होइन । हामी जित्छौँ । यो पार्टीले देश बनाउनै पर्नेछ । यसले देश जोगाउँछ, देश बनाउँछ र राष्ट्रियताको रक्षा गर्छ ।’

अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्ता तथा आम नागरिकको विश्वास जित्ने गरी कार्यसम्पादन गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।