काठमाडौँ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्राथमिक तहको शिक्षक पदमा नियुक्त भई लाभ तथा सुविधा लिएको आरोपमा एक शिक्षकमाथि आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
आयोगले बाराको सुवर्ण गाउँपालिका-६ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, मझरियामा कार्यरत शिक्षक धर्मेन्द्रप्रसाद यादवले शिक्षण पेसामा प्रवेश गर्दा बुझाएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा यादवले विहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको देखिने इन्टरमिडिएट तह अर्थात् आईए तहको नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी अभिलेखमा राखेको पुष्टि भएपछि आरोपपत्र दायर गरेको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार नक्कली प्रमाणपत्रका आधारमा राष्ट्रसेवकका रूपमा प्राथमिक तहको शिक्षक पदमा कार्यरत रही पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको देखिएकाले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको मागदाबीसहित आरोपपत्र दायर गरिएको हो।








तपाईंको विचार लेख्नुहोस्