निर्वाचन निष्पक्ष बनाउन सरकार सक्रिय हुनुपर्छ : सभापति थापा


काठमाडौँ ।

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सरकारले प्रमुख भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग निर्वाचन आयोगले आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले निर्वाचनको वातावरण निर्माण गर्ने दायित्व सरकारको पनि उत्तिकै महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

उहाँले निर्वाचन आयोगले मात्रै सम्पूर्ण जिम्मेवारी वहन गर्न खोज्नु उचित नहुने उल्लेख गर्दै निर्वाचनको तयारी र वातावरण निर्माणका लागि सरकारले समयमै राजनीतिक दलहरूसँग संवाद र समन्वय गर्नुपर्ने बताउनुभयो ।

सरकारले राजनीतिक दलहरू तथा प्रतिपक्षी शक्तिहरूलाई बेवास्ता गर्दै अघि बढ्न खोजेको आरोप लगाउँदै थापाले यस्तो कार्यशैली निर्वाचनका सन्दर्भमा स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । उहाँले सरकारको कामकारबाहीमा राजनीतिक दलहरूसँगको संवाद र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

गत वर्ष भदौ २३ र २४ गतेका अप्रत्याशित घटनापछिको अवस्थामा निर्वाचन सम्पन्न गराउन तत्कालीन सरकारले राजनीतिक दलहरूसँग गरेको छलफल, संवाद र सहजीकरण महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । निर्वाचन आयोगको भूमिकासँगै सरकारको सक्रियता र राजनीतिक सहमति पनि निर्वाचन सफल बनाउन आवश्यक हुने उहाँले बताउनुभयो ।

सभापति थापाले निर्वाचनको मिति र प्रक्रियाका विषयमा संविधान तथा प्रचलित कानुनले स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै सोही व्यवस्थाअनुसार निर्वाचन अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

स्थानीय तह र प्रदेश तहको निर्वाचन एकै समयमा गर्ने विषयमा निर्वाचन आयोगमा छलफल भएको जानकारी दिँदै उहाँले विशेष परिस्थितिमा दुवै तहको निर्वाचन एउटै मितिमा गर्न सकिने सम्भावनाबारे राजनीतिक दलहरूबीच थप छलफल र सहमति आवश्यक रहेको बताउनुभयो ।

उहाँले निर्वाचन आयोगलाई निर्वाचनसम्बन्धी तयारीमा मात्रै सीमित नरही सरकारको भूमिकाबारे पनि समयमै ध्यानाकर्षण गराउन आग्रह गर्नुभयो । सरकार र राजनीतिक दलहरूबीच पर्याप्त संवाद तथा सहकार्य नभए निर्वाचनको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठ्न सक्ने उहाँको आशय थियो ।

सरकारले अन्य राजनीतिक दलहरूसँग संवाद गर्न अनिच्छा देखाएको भन्दै सभापति थापाले असन्तुष्टि व्यक्त गर्नुभयो । निर्वाचन लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण पक्ष भएकाले यसको सफलताका लागि सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरूबीच सहकार्य अनिवार्य रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।