एनआईसी एशिया बैंकद्वारा बर्दिया र धनुषाका तीन विद्यालय र एक अस्पताललाई सहयोग


काठमाडौँ ।

एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बर्दिया र धनुषा जिल्लाका तीन सामुदायिक विद्यालय र एक अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री तथा उपकरण र पानी शुद्धीकरण प्लान्ट सहयोग गरेको छ ।

बैंकले बर्दियाको मधुवन नगरपालिका–६, सानोश्रीस्थित मधुवन नगर अस्पताललाई स्वास्थ्य उपचारमा सहजता र गुणस्तरीय सेवा प्रवाहमा सहयोग पुर्‍याउने उद्देश्यले आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण उपलब्ध गराएको हो ।

त्यस्तै, बर्दियाकै मधुवन नगरपालिका–८, दुर्गापुरस्थित श्री शिवदुर्गा माध्यमिक विद्यालय, बारबर्दिया नगरपालिका–९, बनगाईस्थित श्री जनज्योति माध्यमिक विद्यालय र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–६ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय, सखुवा बजारलाई शुद्ध खानेपानीको व्यवस्था गर्न पानी शुद्धीकरण प्लान्ट प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार दैनिक ८० भन्दा बढी बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको मधुवन नगर अस्पताललाई गत मंसिर ३ गते आयोजित विशेष कार्यक्रमबीच स्वास्थ्य सामग्री तथा उपकरण हस्तान्तरण गरिएको थियो । बैंकका नेपालगञ्ज सर्कल हेड जीवन शाही र नेपालगञ्ज शाखा प्रमुख मिनराज ज्ञवालीले संयुक्त रूपमा अस्पतालका प्रमुख डा. कुलदीप कुमार यादवलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

सोही दिन बर्दियाका दुई सामुदायिक विद्यालयमा पनि पानी शुद्धीकरण प्लान्ट जडान गरी हस्तान्तरण गरिएको थियो । ४१७ भन्दा बढी विद्यार्थी अध्ययनरत श्री शिवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिबहादुर बस्नेत र ४३४ भन्दा बढी विद्यार्थी अध्ययनरत श्री जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक मिमबहादुर खड्कालाई बैंकका नेपालगञ्ज सर्कल हेड जीवन शाही र नेपालगञ्ज शाखा प्रमुख मिनराज ज्ञवालीले संयुक्त रूपमा प्लान्ट हस्तान्तरण गर्नुभएको थियो ।

यसैगरी, ६२० भन्दा बढी विद्यार्थी अध्ययनरत धनुषाको श्री राष्ट्रिय माध्यमिक विद्यालय, सखुवा बजारमा मंसिर २ गते आयोजित विशेष कार्यक्रमबीच पानी शुद्धीकरण प्लान्ट जडान गरी हस्तान्तरण गरिएको थियो । बैंकका जनकपुर सर्कल हेड उत्सुकराज श्रेष्ठ र धनुषा शाखा प्रमुख प्रेमबहादुर श्रेष्ठले संयुक्त रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार श्रेष्ठ र प्रधानाध्यापक सन्तोषकुमार यादवलाई उक्त प्लान्ट हस्तान्तरण गर्नुभएको थियो ।

बैंकले उपलब्ध गराएको सहयोगबाट विद्यालयका विद्यार्थीलाई स्वच्छ तथा शुद्ध खानेपानीको सुविधा प्राप्त हुने र अस्पतालमा बिरामीको उपचारलाई थप सहज बनाउन सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा योगदान पुर्‍याउने उद्देश्यले सहयोग कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।