मेक्सिकोमा गाजाले वैधानिकता पाउने



मेक्सिको सिटी, (एजेन्सी) ।

मेक्सिकोको सदनको तल्लो सभाले गाजालाई मनोरञ्जनका लागि प्रयोग गर्न वैधानिकता दिने विधेयक पारित गरेको छ । अब यो विधेयक अन्तिम मतदानका लागि सिनेटमा जानेछ । राष्ट्रपति आन्द्रेस म्यानुयल ओव्राडरको पार्टी सिनेटले यस विधेयक पारित गर्ने सम्बन्धमा ढुक्क रहेको छ । मेक्सिकोले लागुऔषध तस्करहरूसँग हिंसात्मक संघर्ष गर्दै आएको छ ।

वर्षेनी यस क्रममा हजारौं व्यक्तिको ज्यान जाने गरेको छ । गाजालाई वैधानिक गरिएसँगै मेक्सिको यसको विश्वकै सबैभन्दा ठूलो बजारमध्ये एक हुनेछ । तल्लो सदनमा विधायकहरूले यसलाई पारित गर्ने पक्षमा ३ सय १६ र विपक्षमा १ सय २९ मत दिएका छन् । हुन त गतवर्षको नोभेम्बरमै सिनेटले गाजालाई वैधानिकता दिने विधेयकलाई अनुमोदन गरिसकेको थियो । तर, यस विषयमा तल्लो सभाले केही अदलबदल गरेकाले अर्को मतदानको आवश्यकता परेको हो ।पारित हुन गइरहेको विधेयकले कुनै पनि व्यक्तिले २८ ग्रामसम्म गाजा बोक्न सक्ने तथा निजी प्रयोगका लागि घरमा आठवटा सम्म गाजाको बोट रोप्न सक्नेछन् । वर्तमान परिस्थितिमा ५ ग्रामभन्दा बढि गाजा बोक्नुलाई अपराध मानिन्छ ।

अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सका अनुसार यस विधेयककले गाजाको खेती, ओसार–प्रसार, अनुसन्धान एवं आयात वा निर्यातका लागि पनि अनुमति पत्र दिनेछ । संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा पनि पूर्वराष्ट्रपति वाराक ओवामाको कार्यकालमा उपचार र मनोरञ्जनका प्रयोजनका लागि गाजालाई वैधानिकता प्रदान गरिएको थियो । अन्य केही युरोपेली मुलकमा पनि गाजालाई पूर्ण वा अर्ध वैधानिकता प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्