थाई प्रमले पत्रकारलाई स्यानिटाइजर छर्कंदै जवाफ टार्न खोजे



बैंकक, (एजेन्सी) ।

थाई प्रधानमन्त्री प्रायुथ चान–ओचाले मंगलबार आफ्नै पत्रकार सम्मेलनमा सोधिएको एउटा जटिल प्रश्नको जवाफ पन्छाउने उद्देश्यले पत्रकारहरूमाथि अचानक स्यानिटाइजर छर्केर रमाइलो तर आश्चर्यजनक परिस्थिति सिर्जना गरिदिएका छन् । प्रायुथ हाल खाली रहेका मन्त्री पदहरूका सम्भावित उम्मेदवारको नाम सूचीबारे प्रश्न सोधिएपछि चिडिएका थिए । सात वर्ष अघिको जनप्रदर्शनमा सहभागी रहेको अभियोगमा गतसाता मात्र उनको सरकारमा रहेका तीनजना मन्त्रीलाई कारावास सजाय तोकिएको थियो ।

हाल अनलाइनमा भाइरल भएको भिडियोमा प्रायुथले मन्चबाटै भनेका छन् , ‘ अब केहि सोध्नु बाँकी छ ? मन्त्रीहरु को को होलान् भन्ने मालाई थाहा छैन । यसबारे हेरको छैन । यो प्रधानमन्त्रीले सबैभन्दा पहिले थाहा हुनुपर्ने कुरा हैन , र ? ’

यति भनिसकेपछि उनले स्यानिटाइजरको एउटा सानो बोटल उठाएको र पत्रकारहरूतर्फ हिंड्दै सबैमाथि स्यानिटाइजर छर्केको देखिन्छ । त्यतिबेला उनी एक हातले आफ्नो अनुहारको मास्क सम्हाल्न व्यस्त देखिन्थे । सैनिक विद्रोहका पूर्वनेता प्रायुथ सञ्चारमाध्यममा ठट्यौलो प्रतिक्रिया दिने व्यक्तित्वको रूपमा पनि चिनिए पनि उनले प्रायशः पत्रकारहरूको आलोचना गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्