मे सम्ममा अमेरिकामा सम्पूर्ण वयष्कलाई कोरोना खोप



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकी राष्ट्रपति जोय बाइडेनले आगामी मे महिनाको उत्तराद्र्धसम्ममा अमेरिकाका सम्पूर्ण वयष्कका लागि यथेष्ट कोरोना भाइरसविरुद्धको खोप उपलब्ध भइसक्ने बताएका छन् । विगतमा अनुमान गरिए भन्दा दुई महिनाअघि नै यसरी खोपको व्यवस्था भइसक्ने स्थितिको सिर्जना भएको हो ।यसैगरी, राष्ट्रपति बाइडेनले खोप अभियानको अवधि विस्तार गरिने तथा खोप लिनलाई सबै अमेरिकी जनतालाई विश्वस्त पारिने पनि बताएका छन् ।

साथै, बाइडेनले यो महामारी समस्या समाप्त हुन अझै धेरै समय लाग्ने र त्यसमाथि नयाँ विकसित स्वरूपको कोरोना भाइरसको चिन्ता थपिएको कारण जनतालाई अझै धेरै सजग र सतर्क रहने सल्लाह पनि दिएका छन् । उनले आर्थिक गतिविधि उकास्ने उद्देश्यले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी नियमहरू खुकुलो पार्ने केही राज्यहरूमाथि यो संकेत गरेका हुन् ।हुन त सन् २०२१ को शुरुआतसंगै अमेरिकामा कोरोना संक्रमणको घटनामा उल्लेखनिय कमि आएको छ ।

अमेरिकामा कोरोनाको कारण ५ लाखभन्दा बढि व्यक्तिले ज्यान गुमाइसकेका छन् । ७ लाख ६० हजार भन्दा बढि डोज खोपको व्यवस्था भइसकेको छ । या परिमाण अमेरिकाको कुल जनसंख्याको १५ दशमलव ३ प्रतिशत जनतालाई पुग्दछ । राष्ट्रपति बाइडेनले आफ्नो कार्यकालको पहिलो एक सय दिनभित्र कोभिड–१९ को १० करोड डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका थिए ।अहिले अमेरिकामा प्रत्येक दिन १७ लाख ४० लाख डोज खोप उपलब्ध गराइने गरिएको छ ।

यसैबीच, बाइडेनले यसै वर्ष आफ्नै खोप तयार गर्ने कार्य बीचैमा छोडेको औषधि कम्पनी मेर्कले हालै अनुमोदित एकै डोजको खोप निर्माणका लागि जोन्सन एन्ड जोन्सनलाई मद्दत गरिरहेको बताएका छन् । साथै, मार्चको अन्त्यसम्म प्रत्येक शिक्षकलाई कम्तिमा एक डोज खोप दिई सकाउने र विद्यालयहरू खुल्ला गर्ने कामलाई तीव्रता दिने सरकारी नीति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्